मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन,समग्र स्वास्थ्य निर्धारण गर्छ

डिसी नेपाल
६ चैत २०८२ ८:१९
28
Shares

काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस । हरेक वर्ष मार्च २० मा विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रमको आयोजनागरी मनाइन्छ । मुख र दाँतको स्वास्थ्यबारे जनचेतना फैलाउन, रोगहरू रोकथाम गर्न र स्वस्थ्य बानी व्यवहार अपनाउन प्रेरित गर्ने यस दिवसको मुख्य उद्देश्य हो ।

नेपाल न्यूज बैंकसँगको विश्व मुख स्वास्थ्य दिवस विशेष कुराकानीमा दन्त चिकित्सकहरूले मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार मुख स्वास्थ्य केवल दाँत वा गिजासम्म सीमित विषय नभई समग्र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण पक्ष हो । दन्त चिकित्सक काजल ठाकुरका अनुसार मुख स्वास्थ्यलाई शरीरको अन्य भागभन्दा अलग रूपमा बुझ्नु गलत हो।

‘मुख हाम्रो शरीरकै अभिन्न हिस्सा हो, त्यसैले यसको स्वास्थ्यले सम्पूर्ण शरीरको स्वास्थ्यमा प्रभाव पार्छ,’ उनले भनिन्। उनका अनुसार मुखभित्र हुने संक्रमणहरू रक्तप्रवाहमार्फत शरीरका अन्य अंगसम्म पुग्न सक्छन्, जसले मुटुजस्ता संवेदनशील अंगमा समेत असर पार्न सक्छ ।

उनले नेपालमा मुख स्वास्थ्यको अवस्था क्षेत्रअनुसार फरक रहेको बताइन्। शहर क्षेत्रमा जनचेतना बढ्दै गइरहेको र मानिसहरू नियमित चेकअप तथा उपचारतर्फ सचेत बन्दै गएका छन्। तर ग्रामीण क्षेत्रमा अझै पनि मुख स्वास्थ्यबारे पर्याप्त जानकारी नपुगेको उनले उल्लेख गरिन्।

उनले भने,‘नेपालमा क्षेत्रको हिसाबले हेर्दाखेरि शहरतिर अलिकति राम्रो हुँदै गएको छ । तर गाउँतिर अहिले पनि त्यस्तै नै छ । हामीले भर्खरै बिकट गाउँमा गएर हेर्यौँ, त्यहाँ एकदमै खराब अवस्था छ । पेसेन्टहरुलाई दैनिक दुई पटक ब्रस गर्नुपर्छ भन्ने कुरा पनि राम्ररी थाहा हुँदैन ।

शहरतिर बिरामीहरु सचेत हुनुहुन्छ भने गाउँतिर अझैसम्म राम्ररी अवेयरनेस पुगेको छैन । त्यहीँ भएर शहरमा अलि कम हुँदै गइरहेको छ ओरल हेल्थ । गाउँतिर चाहिँ बढ्दै नै गइरहेको छ ।’ ठाकुरका अनुसार ग्रामीण क्षेत्रमा गिजासम्बन्धी रोगहरू बढी देखिन्छन् । गिजा सुन्निने, दाँत हल्लिने र अन्ततः झर्ने जस्ता समस्या सामान्य छन् । यसको मुख्य कारण मुखको सरसफाइमा ध्यान नदिनु हो ।

यता, शहर क्षेत्रमा प्रशोधित खानेकुरा र चिनीको बढी सेवनका कारण दाँतमा किरा लाग्ने समस्या बढी देखिएको उनले बताइन् । मुख स्वास्थ्यअन्तर्गत पर्ने रोगहरूबारे उनले दाँतमा किरा लाग्ने, दाँतको क्षय, गिजा रोग, दाँत घिस्रिने, जिब्रोसम्बन्धी समस्या तथा मुख क्यान्सर प्रमुख रहेको जानकारी दिइन्।

विशेषगरी गुट्खा, खैनी, सुपारी तथा धूम्रपान गर्ने व्यक्तिहरूमा मुख क्यान्सरको जोखिम अत्यधिक हुने उनले चेतावनी दिइन् । त्यसैगरी डेन्टल सर्जन मोनिका सैजुले पनि मुख स्वास्थ्यका बारेमा जनचेतना फैलाउनु अत्यन्तै आवश्यक रहेको बताइन्। उनका अनुसार अधिकांश मानिसहरू दुखाइ नभएसम्म दन्त चिकित्सककहाँ नजाने प्रवृत्ति रहेको छ, जसले गर्दा रोग जटिल भइसकेपछि मात्र उपचारमा आउने अवस्था देखिन्छ ।

उनले भनिन्,‘मुखमा पहिलो समस्या भनेको दाँत किराले खाने हो । कुइँए सकेको नभएसम्म दुख्दैन। नसासम्म नै नखाएसम्म दाँत दुख्ने भन्ने हुँदैन। जसका कारण अर्थात नदुखेसम्म चेकअपको लागि आउनुहुँदैन । मुखको क्यान्सरको पनि समस्या हुने गरेको छ ।

जुन प्राय मान्छेहरूले थाहा पाउँदैनन्। गिजा सुन्निने, इन्फेक्सन हुने समस्याहरु पनि हुने गरेका छन् । डायबिटिजहरू वा स्वास्थ्यको सम्बन्धित अरू बडीको सिस्टमसँग रिलेटेड रोगहरूका कारण पनि मुखमा समस्या देखिन सक्छ ।’

उनले सामान्य व्यक्तिहरूले प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउनुपर्ने सुझाव दिइन्। साथै, मधुमेह, उच्च रक्तचापजस्ता दीर्घरोग भएका व्यक्तिहरूले अझ बढी ध्यान दिनुपर्ने र ३–६ महिनामा नियमित जाँच गराउनु आवश्यक रहेको उनले बताइन्।

मुख स्वास्थ्य जोगाउन दिनमा कम्तीमा दुई पटक दाँत माझ्ने, राति सुत्नुअघि अनिवार्य रूपमा ब्रस गर्ने, डेन्टल फ्लस प्रयोग गर्ने र पर्याप्त पानी पिउने बानी बसाल्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

साथै, चिनी र प्रशोधित खानेकुराको सेवन कम गर्ने, फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्ने र नरम ब्रस छनोट गर्ने पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । सैजुका अनुसार पछिल्लो समय दन्त उपचारमा प्रविधिको प्रयोग बढ्दै पनि गएको छ । इन्ट्राअरल स्क्यानर, डिजिटल एक्स–रेजस्ता आधुनिक उपकरणहरूले रोग पहिचान र उपचारलाई सहज बनाएको छ । यस्ता प्रविधि ग्रामीण क्षेत्रमा समेत विस्तार गर्न सके मुख स्वास्थ्य सुधारमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।

ग्रामीण क्षेत्रमा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अझै कमजोर रहेकाले स्वास्थ्य शिविर, विद्यालयस्तरीय कार्यक्रम तथा डिजिटल माध्यममार्फत जानकारी प्रवाह गर्न आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । उपचारभन्दा पनि रोकथाममा जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।

समग्रमा, मुख स्वास्थ्यलाई बेवास्ता गर्दा यसले गम्भीर शारीरिक समस्या निम्त्याउन सक्ने भएकाले समयमै सचेत भएर नियमित हेरचाह र परीक्षण गर्न चिकित्सकहरूले सबैलाई आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *