कथा : ठुलकुमार

प्रकाशचन्द्र खतिवडा
७ चैत २०८२ ७:१९
312
Shares

ठुलकुमार मारिएको खवरले म व्यग्र बनें। ठुलकुमार मेरो साथी थियो। हामी भोजपुर क्याम्पसमा अध्ययन गथ्र्यौं। ऊ माओवादी निकट विद्यार्थी संगठनको सचिव थियो। ऊ क्रान्तिका कुरा गर्न रुचाउँथ्यो। उसको माउ पार्टी अर्धभूमिगत थियो। ठुलकुमारहरु अर्धभूमिगत राजनीति गर्थे।

हामीले पढाई सिध्यायौं। ठुलकुमार एम.कम पढ्ने धुनमा थियो। म जागिर खाने धुनमा थिएँ। ठुलकुमार काठमाडौं तिर लाग्यो। म शिक्षण गर्न दिङ्ला तिर लागें। ठुलकुमारले एम.कम। सिध्याउँदा सम्म हामी पत्राचार गरि रहेका थियौं।

उसको माउ पार्टीले शशश्त्र विद्रोहको घोषणा गरी भूमिगत भएपछि ठुलकुमार पनि भूमिगत भयो। भूमिगत कालमा ऊसँग सम्पर्क हुन सकेन। उसको कार्य क्षेत्र जाजरकोट थियो रे। भोजपुरै कार्यक्षेत्र भएको भए भेट पक्कै हुन्थ्यो। म पनि चन्दा दिएर परोक्ष रुपामा क्रान्तिलाई सघाइँ रहेको थिएँ। यद्यपि चन्दा बाध्यात्मक थियो। तोकिएको रकम बुझाउनु पथ्र्यो।

ठुलकुमार निम्न मध्यम वर्गीय परिवारको सदस्य थियो। कृषिबाटै उसको परिवारले जीविका चलाउँथे। जेनतेन खान लाउन पुग्थ्यो। पढाई खर्चका लागि साहु काढ्नै पथ्र्यो। चाड पर्वमा बेसाहा बेसाउनै पथ्र्यो। भोजपुर बजार आएर सामान किन बेच गर्नु पथ्र्यो।

ठुलकुमार मा.वि. तह बाटै विद्यार्थी संगठनमा आवद्ध थियो उ स्व.वि.यु. उपाध्यक्ष थियो। ऊ माक्र्सवादी दर्शनले प्रभावित थियो। लेनिनवाद र माओवादको अध्ययन गरी उसले क्रान्तिको बाटो रोजेको थियो। सामन्तवाद, साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवाद र दलाल नोकाशाही पुँजीवादको आलोचना गथ्र्यो।

वर्ग संघर्ष चर्काउँदै समाजवाद र साम्यवाद प्राप्तिमा किसान मजदुरको सहभागिता अनिवार्य हुनु पर्छ भन्थ्यो। किसानहरुले विद्रोह गरी आन्दोलनको नेतृत्व गर्दै राज्य सत्ता कब्जा गर्ने कुरा गथ्र्यो।

किसान आन्दोलनले जमिन्दारी प्रथा अन्त्य हुने कुरामा ऊ विश्वस्त थियो। क्रान्तिमा समर्पित हुँदा उसमा कुनै हिनता बोध थिएन। ऊ उर्जाशील नौजवान थियो। ऊ मर्न र मार्न समेत तयार थियो।

म बामपन्थी विचारप्रति आस्थावान थिएँ। मेरो आस्था बुझेर ठुलकुमार मलाई क्रान्तिमा सामेल हुन हौस्याइ रहेको थियो। मैले क्रान्तिमा होमिने आँट गर्न सकेको थिइनँ। म उग्र बामपन्थको विपक्षमा थिएँ। व्यालेटबाट पनि प्रगतिशील सत्ता स्थापना हुन सक्छ भन्ने मेरो बुझाइ थियो।

म त्यही ढंगले प्रशिक्षित थिएँ। संसदीय मोर्चा उपयोग गर्ने रणनीति अख्तियार गर्नु पर्छ भन्ने मेरो मान्यता थियो। जनताको अभिमतलाई शिरोधार्य गर्नु नै उत्तम विकल्प हुने कुरा प्रति म प्रतिवद्ध थिएँ।

ठुलकुमार संसदीय मोर्चा प्रति विश्वस्त थिएन। अभिजात्य वर्गको सौदाबाजी गर्ने थलोको रुपमा संसदलाई परिभाषित गथ्र्यो। खसीको टाउको झुण्डयाएर कुकुरको मासु बेच्ने थलोको रुपमा विश्लेषण गथ्र्यो। दलाल पुँजिपतिहरुको पक्षपोषण गर्ने भ्रष्टहरुको बोलवाला हुने र धनाढ्यहरुले मात्रै राजनीति गर्ने शासन व्यवस्था हो भन्दै संसदीय व्यवस्थाको खिल्ली उडाउथ्यो। बुर्जुवाहरुको दवदवा भएको शासन व्यवस्थामा गरिव निमुखाको आवाज उठाउने कोही हुँदैन भन्थ्यो। गरिवहरुको सत्ता प्राप्त नहुन्जेल क्रान्ति जारी रहने कुरा व्यक्त गथ्र्यो।

भविष्यका मिठा सपना देखेर ठुलकुमार क्रान्तिमा होमिएको थियो। ऊ न्याय, समानता र मुक्ति प्राप्तिका लागि अडिग थियो। उसले देखेको सपना प्राप्त गर्न सर्यौ वर्ष लाग्न सक्थ्यो। जनता सचेत नभए सम्म क्रान्ति सफल नहुने कुराप्रति ठुलकुमार सजग थियो।

जनतालाई संगठित गरी शत्रु विरुद्ध परिचालित गर्न नसके क्रान्ति केवल कोरा क्रान्ति हुने थियो। जनताले मुक्ति प्राप्त गर्न नसके ठुलकुमारहरुको बलिदान व्यर्थै खेर जाने थियो।

ठुलकुमारले झोला मिलायो। भोलि उसले जाजरकोटको रवना लिनु थियो। पन्ध्र जनाको टुकडीको नेतृत्वको जिम्मेवारी उसको काँधमा थियो। सुरक्षित यात्रा गर्दै उनीहरु सकुशल जाजरकोट पुगि क. गाण्डिवको प्लाटुनमा समाहित भै छापामार शैलीको युद्ध कौशल सिक्नु थियो।

सकेट बम हान्न, ग्रिनेड फाल्न, विद्युतीय धराप (एम्बुस) थाप्न, बम बनाउन, बन्दुक र पेस्तोल चलाउने सिप नसिकी छापामार युद्धमा सामेल हुन सकिँदैनथ्यो। बौद्धिक फाँट हेर्नु पर्ने ठुलकुमार सैन्य मोर्चाको नेतृत्व गर्न पुग्यो।

एक महिनाको कठोर तालिम पश्चात ठुलकुमार युद्ध कौशलमा पोख्त भयो। उसलाई प्लाटुन कमाण्डरको जिम्मेवारी दिइयो। आत्म रक्षाको लागि उसलाई पेस्तोल उपलब्ध गराइयो। जाजरकोेटको भूगोल ठुलकुमारका लागि नितान्त नौलो थियो। उसलाई भूगोल अध्ययन गर्न पन्ध्र दिन लाग्यो।

जनयुद्ध देशव्यापी बन्दै गएको थियो। जनमुक्ति सेना र सरकारी सेना प्रहरी बीच दोहोरो मुठ भेडका समाचार आउन थालेका थिए। प्रहरी चौकी लुट्ने र हात हतियार कब्जा गरी गाउँबाट प्रहरी चौकी विस्थापित गराउने रणनीति अख्तियार गर्दै जनमुक्ति सेनाले प्रहरी चौकीहरुमा आक्रमण गरि रहेका थिए।

रोल्पा, रुकुम, सल्यान जाजरकोट, प्युठान लगायत जिल्लाहरुमा जनसरकारहरु गठन गरिएका थिए। जनताको मुद्दा मामला हेरी आवश्यक कार्यवाहीको प्रकृयामा सरकारी प्रतिनिधि संलग्न हुन छोडेका थिए। जनसरकारहरु नै समस्या समाधानमा क्रियाशील देखिन्थे। श्रम, भौतिक तथा भाटे कार्यवाही प्रचलनमा ल्याइएको थियो।

वहुविवाह गर्ने, सुदखोरी गर्ने, मादक पदार्थ सेवन गर्ने, महिला हिंसा गर्ने, सामन्त्याइ देखाउने, जातीय भेदभाव गर्नेहरु प्रति माओवादी कडा रुपमा प्रस्तुत हुने गथ्र्यो। सामन्त सुदखोर क्रमशः गाउँ छोड्दै शहर केन्द्रित हुन थालेका थिए। कतिपय ठाउँमा सामन्त र सुदखोरहरुलाई भौतिक कार्यवाही गरी सफाइ गरिएको थियो।

प्राय गाउँहरु माओवादी कब्जामा थिए। शिक्षक कर्मचारीलाई चन्दा तोकिएको थियो। सामन्त र सदखोरसँग निश्चित रकम असुलिन्थ्यो। सेना प्रहरी भएको घर परिवारलाई जागिर छोडाउने धम्कि दिइन्थ्यो र आर्थिक सहयोग लिइन्थ्यो।

अहिले म भोजपुरको साङपाङमा थिएँ। साङपाङ माओवादीको पकड क्षेत्र थियो। दिनहुँ जसो माओवादी नेतासँग भेट हुने गथ्र्यो। दजर्नौ कार्यकर्ता भूमिगत थिए। जनमुक्ति सेनाको चहलपहल पनि हुने गथ्र्यो। माओवादीलाई खाना ख्वाउने, सेल्टर दिने र चन्दा दिने काम सामान्य दैनिकी जस्तै बनेको थियो। दोहोरो मार खेप्न बाध्य थियौ हामी शिक्षकहरु।

विद्यालयबाट सावित्री सर (समर) राजीनामा गरी भूमिगत थिए। प्र.अ रीता दिदीको भाइ राजेन्द्र पनि भूमिगत थिए। समर नाताले मेरो मामा भए पनि हाम्रो सिद्धान्त र आस्था फरक थियो। रीता दिदी र म सिद्धान्तको हिसाबले माओवादी निकट नभए पनि समर र राजेन्द्रको कारण सरकारी पक्ष हामीलाई माओवादी नै हुन भनी अड्कल काटिरहेको थियो।

सेना प्रहरीले विशेष निगरानी राखी सोधपुछ गथ्र्यो। मैले त समरलाई आफू माओवादी हुन नसक्ने कुरा प्रष्ट्याई सकेको थिएँ। साङपाङमा माओवादी नभइ बाँच्न सकिएला र भाञ्जा? भन्दै समरले मलाई माओवादी हुन नसके पनि विरोध गर्न नपाइने, आर्थिक र नैतिक समर्थन गर्नु पर्ने कुरा प्रति विशेष प्रतिवद्धता खोज्नु भएको थियो।

मैले यस अर नो केही भनिनँ। विरोधी भएरै पनि के जित्नु थियो र ? समर्थक भएरै पनि के पाउनु थियो र? म आफ्नो पेसामा प्रतिवद्ध थिएँ नै। मेरो प्रमुख दायित्य अध्यापन थियो। नानीहरुलाई व्यवहारिक र नैतिकवान बनाउनु मेरो कर्तव्य थियो। मलाई शिक्षण पेशाप्रति हीनता बोध थिएन।

म सानैदेखि शिक्षणप्रति प्रभावित थिएँ। मेरो बुबा शिक्षकै हुनुहुन्थ्यो। आमा निजामती जागिर किन नखाएको भनेर कहिले कहिले खै गर्नु हुन्थ्यो। म आफूलाई भ्रष्ट र घुसखोरी बनाउन चाहन्नथें। म शिक्षण पेसामै रमाइरहेको छु भन्दै आफूलाई गौरवान्वीत महशुस भैरहेको कुरा आमालाई व्यक्त गर्थे। आमा मेरो खुशीमा हाँसेर सहभागिता जनाउनु हुन्थ्यो।

०५२ फाल्गुन ०१ गते बाट औपचारिक रुपमा ठुलकुमारसँग भेट हुन सकेन। अनौपचारिक रुपमा उसको हाल खबर भने प्राप्त हुने गथ्र्यो। ऊ भूमिगत हुनुपूर्व भूमिगत हुनु पर्ने कारण खोली क्रान्तिमा समाहित हुन अनुरोध गर्दै उसले पठाएको पत्र प्राप्त गरेता पनि मैले जवाफ फर्काउन नपाइ ऊ भूमिगत भैसकेको कुरा साङपाङ आवत जावत गर्ने जनमुक्ति सेनाबाट थाहा पाएको थिएँ। पत्र कहाँ पठाउने? मैले पत्रको जवाफ फर्काउन उचित ठानिनँ। ठुलकुमारको क्रान्ति यात्राले सफलता प्राप्त गर्न सकोस् भनी मन मनै कामना गरें।

ठुलकुमारलाई पार्टीले जाजरकोट खटाएको कुरा क.समरबाट जानकारी प्राप्त गरें। भोजपुर र जाजरकोटको दूरी टाढै थियो। अब मैले उसको अनौपचारिक खबर समेत प्राप्त गर्न छोडें। विचार र सिद्धान्त फरक भए पनि ऊ र म किन सहिर्दयी बन्न सक्यौं? मलाई लाग्छ हामीलाई एउटै सुत्रमा हिँडाउने एक मात्र माध्यम थियो प्रगतिशील लेखन। ऊ प्रगतिशील साहित्य लेख्थ्यो। म पनि प्रगतिशील साहित्य लेख्थें।

प्रगतिशील साहित्यलाई उसको र मेरो सिद्धान्त र वादले छेक्न सकेन। बाटो फरक भए पनि उसको र मेरो अन्तिम लक्ष्य समाजवाद हुँदै साम्यवादमै जानु थियो। ऊ बुलेट चाहन्थ्यो। म व्यालेट चाहान्थें।

अब्बल तर्क क्षमता भएको ठुलकुमारलाई तर्कमा परास्त गर्न हम्मे पथ्र्यो। उ तथ्य र प्रमाणसहित तर्क गथ्र्यो। उसले कम्युनिष्ट पार्टीको घोषणा पत्र हुवहु कण्ठ गरेको थियो। माक्र्सवादी साहित्य र दर्शनको गहिरो अध्ययन गरेको थियो। मार्स्क, एङ्गेल्स, लेनिन, स्टालिन, होचिमिन्ह, किमइल सुङ, माओत्सेतुङ फिडेल क्यास्ट्रो चेग्वेभारा, चारुममजुमदार र र गोर्की जस्ता व्यक्तिहरुको जीवनी अध्ययन गरी क्रान्तिको बाटो अवलम्बन गरेको हुँ भन्थ्यो।

राता किताब अध्ययन गरी जीवनलाई राता किताबले निर्देषित गरे बमोजिम दिनचर्या बिताउने गथ्र्यो। दास क्यापिटल तीन पटक र गोर्कीको आमा पाँच पटक पढें भन्थ्यो। अध्ययन गर्न झन्झट नमान्ने उसको बानिका कारण कलेजको रिजल्ट पनि राम्रै हुन्थ्यो। उसले व्याक झुण्ड्याएर कलेजमा अल्झनै परेन।

मैले पनि माक्र्सवादी दर्शन र साहित्य अध्ययन गरिरहेकै थिएँ। मलाई दास क्यापिटल छिचोल्न हम्मे परिरहेको थियो। गोर्कीको आमा मैले पनि तीन पटक पढेको थिएँ। देवासुर सङ्ग्राम, मुक्त आकाशको खोजी देउमाइको किनार, इतिहासको किल्लाबाट र मानव जस्ता नेपाली लेखकका पुस्तक पनि अध्ययन गरेको थिएँ।

कम्युनिष्ट पार्टीको घोषणा पत्र दुई पटक पढेको थिएँ। कम्युनिष्ट जीवन शैली अपनाउन म प्रयत्नरत भै रहेको थिएँ। कम्युनिष्ट जीवन शैली अनुशासित र उत्तरदायी जीवन शैली हो। जो कोहीले कम्युनिष्ट जीवन शैली अपनाउन सक्त्तैनथे।

कम्युनिष्ट जीवन शैलीबाट निर्देशित ठुलकुमारको जीवन सादगीपूर्ण थियो। उसमा तडक भडक र उत्ताउलो पन थिएन। मृदुभाषि र अडान उसको सवल पक्ष थियो। ऊ आफू भोकै नाङ्गै रहेर भए पनि भोका नाङ्गाको उत्साह ल्याउन प्रतिवद्ध थियो। भोका नाङ्गाहरुको शासन स्थापित गराउने महान उध्येश्यका साथ ठुलकुमार जाजरकोट गएको थियो।

माओवादी जनयुद्ध सुरु भएको पुग नपुग चार वर्ष भएको थियो। संगठन विस्तार र सैन्य दस्ता निमार्णमा माओवादीले उल्लेख्य प्रगति हात पारेको थियो। गाउँ कब्जा गर्ने रणनीतिमा माओवादीले सफलता प्राप्त गरेको थियो। जनसरकार गठन यसैको एउटा कडी थियो।

एक विहान म कोठामा बसेर कविता लेखि रहेको थिएँ। क.शक्तिको कमाण्डमा माओवादी छापामारको एक डप्फा म कहाँ खाना खाने गरी आएको थियो। शक्तिको मुखबाट आज किमालुङमा श्रद्धाञ्जली सभामा सहभागि हुन पुग्नु पर्नेछ।

क. ठुलकुमारले जाजरकोटमा शाहदत प्राप्त गर्नु भयो नि। श्रद्धाञ्जली सभामा तपाईं पनि जानु पर्ने छ। जौं है दाइ भने पछि म अन्यमनस्क बनें। मलाई आकाशले थिचेको अनुभव भयो। म बोल्न सकिनँ। मेरा आँखा रसाए।

ठुलकुमार तिम्रो सपना कसले पूरा गर्ने? मेरो सहृदयी मित्रको देहान्तमा मैले श्रद्धाञ्जली दिनु मेरो कर्तव्य ठानी खाना खाएर शक्तिको टिमसँग किमालुङ लागें। केन्द्रीय नेताहरुको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न भयो। मैले मुठ्ठी उठाएर ठुलकुमारलाई श्रद्धाञ्जली दिएँ।

सुन्दरहरैंचा -६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *