जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य छैन : खगेन्द्र सुनार
काठमाडौं । आज काठमाडौंको माइतीघरमा जातीय विभेद उन्मूलन दिवसको अवसरमा ध्यानाकर्षण सभा गरिएको छ।
६१औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले उक्त ध्यानाकर्षण सभाको आयोजना गरेको हो।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
उनले संविधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूले समेत जातीय विभेदलाई अस्वीकार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै भने, ‘जातीय विभेद वा कुनै पनि विभेद हामी स्वीकार्न सक्दैनौं भन्ने कुरा हाम्रो संविधानले स्पष्ट बोलेको छ। नेपाल अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा पक्ष राष्ट्रका रूपमा हस्ताक्षरकर्ता पनि हो। तर आजसम्म पनि हामीले यस्तो अन्याय र अत्याचार भोगिरहेका छौं।’
उनले देश परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै आगामी सरकारले उत्पीडित तथा पछाडी परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।
‘हामी नयाँ परिवर्तनको संघारमा उभिएका छाँै, देश परिवर्तनको संघारमा उभिँदै गर्दा यहीँबाट खबरदार गर्न चाहान्छौं। बन्दै गरेको सरकारले उत्पीडनमा परेका, पछाडी परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने।







डिसी नेपाल







Facebook Comment