रौतहटमा पनि मनाइयो ईद–उल–फित्र पर्व

डिसी नेपाल
७ चैत २०८२ १६:००
12
Shares

रौतहट। रौतहटमा मुस्लिम समुदायले शनिवार हर्षोल्लासका साथ ईद–उल–फित्र पर्व मनाएका छन्। एक महिना लामो रमजानको कठोर उपवास (रोजा) पूरा भएको खुसीयालीमा यहाँका विभिन्न स्थानीय तहमा विशेष चहलपहल देखिएको हो।

ईद–उल–फित्र पर्वको अवसरमा गौर, गरुडा, चन्द्रपुर र राजपुर नगरपालिकाका विभिन्न ईदगाहहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो।

यहाँका १५० भन्दा बढी मस्जिद र ईदगाहहरूमा मुस्लिम धर्मावलम्बीहरूले सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाएका छन्।

नमाज सकिएपछि मुस्लिम दाजुभाइहरूले एकअर्कालाई अंकमाल गर्दै ‘ईद मुबारक’ भन्दै शुभकामना साटासाट गरेका छन्। यस दिन गरीब र असहायलाई ‘जकात’ र ‘सत्कार फितर’ (दान) दिने विशेष धार्मिक परम्परा अनुसार आर्थिक सहयोग र खाद्य सामग्री वितरण गरिएको छ।

ईदको अवसरमा घरघरमा विशेष परिकारहरू बनाएर आफन्त र साथीभाइलाई खुवाउने चलन छ। रौतहटमा पनि दूध र सुख्खा फल मिसाएर बनाइएको ’सेवई’ (भर्मीसेली) मुख्य आकर्षण बनेको छ। आफन्त र इष्टमित्रहरू एकअर्काको घरमा पुगेर सुख–दुःख साट्ने र आशीर्वाद लिने क्रम जारी छ।

यस वर्षको ईदले रौतहटमा धार्मिक सहिष्णुता र आपसी सद्भावको राम्रो नमुना पेश गरेको छ। विभिन्न समुदायका मानिसहरूले मुस्लिम दाजुभाइलाई शुभकामना दिँदै यो पर्वलाई साझा खुसीको रूपमा मनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *