अमेरिकामा खस्यो विशाल उल्कापिण्ड
काठमाडौं । शनिबार राति अमेरिकाको ह्युस्टन क्षेत्रको एउटा घरमा एउटा सम्भावित उल्कापिण्ड खसेको छ। अधिकारीहरूका अनुसार उक्त पिण्डले घरको छत र दुई तलालाई क्षति पुऱ्याउँदै भित्र पसेको थियो।
पोन्डेरोसाका फायर चीफ फ्रेड विन्डिसले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार, “उल्कापिण्ड जस्तो देखिने” एउटा वस्तु महिलाको घरको छत चिर्दै भान्छामा पुगेर रोकिएको थियो। विन्डिसका अनुसार उक्त उल्कापिण्ड उनको हातको पञ्जाभन्दा केही ठूलो आकारको थियो। यो उल्कापिण्ड विशाल उल्कापिण्डको टुक्रा भएको मानिएको छ । यो घटना उत्तर ह्युस्टनको उपनगर पोन्डेरोसा फरेस्टमा भएको हो।
नासाले सामाजिक सञ्जालमा पोस्ट गर्दै जनाएअनुसार स्थानीय समय अनुसार दिउँसो ४:४० बजे ह्युस्टनको उत्तर-पश्चिममा पर्ने स्टेजकोच भन्दा ४९ माइल माथि उक्त उल्का देखिएको थियो। नासाका अनुसार ३५,००० माइल प्रति घण्टाको गतिमा दक्षिण-पूर्वतर्फ बढिरहेको उक्त उल्का बामेलभन्दा २९ माइल माथि पुगेपछि टुक्रा-टुक्रा भएको थियो।
नासाले आफ्नो पोस्टमा भनेको छ, “करिब १ टन तौल र ३ फिट व्यास भएको उक्त उल्का विखण्डन हुँदा निस्किएको चापको लहरका कारण त्यस क्षेत्रका मानिसहरूले ठूलो आवाज सुनेका थिए।”
सीबीएस सम्बद्ध केएचओयूका अनुसार, ह्युस्टन क्षेत्रका बासिन्दाहरूले आकाश सफा भए तापनि मेघ गर्जेको जस्तो थर्काउने आवाज सुनेको बताएका छन्।
यसै हप्ताको सुरुमा पनि करिब ७ टन तौल भएको र ४५,००० माइल प्रति घण्टाको गतिमा उडिरहेको एउटा क्षुद्रग्रह अमेरिकाका विभिन्न राज्यहरूमा देखिएको थियो।
त्यस्तै, गत जुन महिनामा पनि दक्षिण-पूर्वी अमेरिकामा एउटा चम्किलो उल्का देखिएको थियो जुन जर्जियामा विस्फोट भएको थियो। त्यसबेला पनि स्थानीय बासिन्दाहरूले यस्तै ठूलो आवाज सुनेका थिए।







डिसी नेपाल







Facebook Comment