नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

डिसी नेपाल
९ चैत २०८२ ७:४२
16
Shares

काठमाडौं। बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन्। पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन्।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो। २ स्वर्णसाथ बङ्गलादेश क्रिरा शिखा प्रतिष्ठान दोस्रो तथा १ स्वर्ण र ३ रजतसाथ दाङ जुडो डोजो तेस्रो भए।

नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टिम च्याम्पियन बनेको एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य हात पार्यो । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित पाम दोस्रो भयो। तेस्रो स्थानको पेल्खिल डोजो क्लब, भुटानले ३ स्वर्ण, १ रजत र २ कांस्य प्राप्त गर्यो। जुनियर क्याडेट दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले नगद पुरस्कार पाए।

बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको जुनियर पुरुषमा पामका सविनकुमार दियाली तथा महिलामा बंगलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए । क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक तथा महिलामा पेल्खिल, भुटानकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने ।

प्रतियोगिताको अन्तिम दिन आइतबारै जुनियरतर्फ ९ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दीपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान टीखत्री, ६० केजीमुनि पामका सविनकुमार दियाली र ७३ केजीमुनि बङ्गलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते । महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि बङ्गलादेश क्रिराकी फबिहा बुश्रा पहिलो भए ।

विजेतालाई त्रिभूवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा।डा। रामकृष्ण महर्जन, आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सो अवसरमा जुडोका संस्थापक मध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *