‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

डिसी नेपाल
९ चैत २०८२ १२:०४
512
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन्।

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले सो अवस्थालाई नियन्त्रण गर्न लक्षित गर्दै विशेष चेकिङ अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार कारबाहीमा परेका अधिकांश चालकले अनलाइन प्लेटफर्मको अनुमति बिना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए। साथै, जथाभावी स्थानमा यात्रु चढाउने र झार्ने (पिक एन्ड ड्रप), सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राइड सेयरिङ सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीसाधनको नियमित मर्मतसम्भार गर्नु, चालकले आवश्यक कागजात बोकेको हुनु तथा तोकिएका नियमको पालना गर्नु अनिवार्य रहेको बताए ।

“धेरै चालकहरूले आधारभूत मापदण्डको बेवास्ता गर्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो,” उनले भने।

विशेषगरी व्यस्त चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास तथा मुख्य सडकमा जथाभावी रोकिएर यात्रु ओसारपसार गर्दा यातायात अवरोध हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसप्रति कडाइ गरिएको प्रहरीले जनाएको छ। आगामी दिनमा पनि यस्ता अनुगमन अभियानलाई अझ प्रभावकारी बनाइने र नियम उल्लङ्घन गर्ने जो-कोहीलाई कारबाही गरिने अधिकारीले स्पष्ट पारे।

साथै, सर्वसाधारणलाई सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका सेवामात्र प्रयोग गर्न आग्रह गरिएको छ। ट्राफिक प्रहरीले सवारी व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ।

साथै, राइड सेयरिङ कम्पनीहरूलाई पनि आफ्ना चालकको अनुगमन कडाइ गर्न तथा नियम पालना सुनिश्चित गर्न आग्रह गरिएको छ।

यसैबीच, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाही बरहथवा नगरपालिका–२ का ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौँ महानगरपालिका–१६ की ४३ वर्षीया उमा गुरुङ, कास्की पोखरा महानगरपालिका–३३ का ३३ वर्षीय आशिष महत र रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ की ३५ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पौडेलले क्रोएसिया पठाउने भन्दै रु ३ लाख ३० हजार, भुजेलले माल्दिभ्स पठाउने भन्दै रु २ लाख ९९ हजार, गुरुङ र महतले बेलायत पठाउने भन्दै जनही रु २ लाख तथा श्रेष्ठले पोर्चुगल पठाउने भन्दै रु ३ लाख ६८ हजार ठगी गरेका थिए।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *