सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम, चैत १२ गते जात्रा मनाइँदै

सन्तोषी रावल
१० चैत २०८२ ११:२७
12
Shares

काठमाडौं। काठमाडौंमा परम्परागत रूपमा मनाइँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक उत्सव सेतो मच्छिन्द्रनाथ जात्राको तयारी धमाधम भइरहेको छ। यस वर्षको जात्रालाई लक्षित गर्दै रथ निर्माण कार्य तीनधारा पाठशाला अगाडि भइरहेको छ। जहाँ बिहानदेखि बेलुकासम्म मानिसहरु निरन्तर खटिरहेका छन्।

चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने यस जात्राको लागि आवश्यक पर्ने परम्परागत रथ निर्माण कार्य अहिले अन्तिम चरणतर्फ उन्मुख छ। जात्राको मुख्य आकर्षणका रूपमा रहने सेतो मच्छिन्द्रनाथ लोकेश्वरको मूर्तिलाई केलटोलस्थित मच्छिन्द्र बहालबाट विधिपूर्वक बाहिर ल्याइन्छ।

त्यसपछि केलटोल, इन्द्रचोक, बाङ्गेमुढा, असन, कमलाक्षी हुँदै तीनधारा पाठशालामा ल्याएर रथमा विराजमान गराइन्छ। यही प्रक्रियापछि मात्रै औपचारिक रूपमा रथयात्रा सुरु हुने परम्परा रहि आएको छ।

जात्राको पहिलो दिन रथ जमलबाट असनसम्म तानिन्छ भने दोस्रो दिन असनदेखि हनुमानढोकासम्म पुर्‍याइन्छ। तेस्रो दिन भने रथलाई लगनसम्म लगिने प्रचलन रहेको छ। यसरी विभिन्न टोल हुँदै अघि बढ्ने रथयात्राले काठमाडौंको पूरानो बस्ती क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक उत्साहले भरिपूर्ण बनाउने गरेको छ।

पूर्णमान महर्जनका अनुसार यो एउटा प्राविधिक काम मात्र नभई गहिरो धार्मिक आस्थासँग जोडिएको सेवा हो। विगत ३७ वर्षदेखि रथ निर्माणमा संलग्न महर्जन आफूले सानैदेखि यो काम गर्दै आएको र अहिले पनि उत्तिकै समर्पणका साथ लागेको बताए।

उनका अनुसार पहिलेको समयमा रथ निर्माणको स्वरूप र शैली केही फरक थियो भने अहिले परम्परालाई जोगाउँदै आधुनिक आवश्यकताअनुसार केही परिवर्तन गरिएको छ।

यस वर्ष रथ निर्माणको जिम्मेवारी पूर्णमान महर्जनले सम्हालेका छन्। उनले यो सीप आफ्नो बुवाबाट सिकेको उल्लेख गर्दै भगवानको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताए। ‘अरु काम होस् वा नहोस्, भगवानको काम भने गर्नैपर्छ भन्ने भावना छ,’ उनले भने,‘यसमा थकानभन्दा पनि आनन्द बढी महसुस हुन्छ।’

रथ निर्माणमा प्रयोग हुने सामग्रीहरू पनि परम्परागत नै छन्। विशेषगरी काठ र सुक्खा वेथ प्रयोग गरिन्छ। वेथलाई पानीमा भिजाएर मजबुत डोरी बनाइन्छ, जसले रथलाई बाँध्न र संरचना मजबुत बनाउन सहयोग गर्छ। यी सबै कामहरू अत्यन्तै सीप र अनुभवका आधारमा गरिन्छन्, जसले परम्परागत ज्ञानको निरन्तरता पनि सुनिश्चित गर्छ।

स्थानीयवासीहरू पनि यस कार्यमा सक्रिय रूपमा सहभागी भइरहेका छन्। धेरैले आस्था र श्रद्धाका साथ श्रमदान तथा सहयोग गर्दै आएका छन्। यसले जात्रालाई केवल धार्मिक कार्यक्रम मात्र नभई सामुदायिक एकताको प्रतीकका रूपमा पनि स्थापित गरेको छ।

रथ निर्माण कार्यमा गुठी संस्थानको सहयोग रहेको छ। जसले यस्ता परम्परागत धार्मिक गतिविधिहरूलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस वर्षको सेतो मच्छिन्द्रनाथ जात्रा चैत १२ गतेदेखि सुरु हुने जनाइएको छ। जात्रा सम्पन्न भएपछि काठमाडौं उपत्यकामा अन्य विभिन्न जात्रा तथा पर्वहरू पनि क्रमशः सुरु हुने परम्परा रहेको छ।

नेपालमा मनाइने विविध जात्रा तथा पर्वहरूमध्ये सेतो मच्छिन्द्रनाथ जात्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्व बोकेको पर्व हो।

यसले एकातिर धार्मिक आस्थालाई बलियो बनाउने काम गर्छ भने अर्कोतर्फ पूराना परम्परा, सीप र सामुदायिक सहकार्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *