नोरा फतेहीलाई भारतले देशनिकाला गर्न लागेको हो ?

डिसी नेपाल
१० चैत २०८२ १३:११
3.7k
Shares

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही र वरिष्ठ अभिनेता सञ्जय दत्त अभिनित कन्नड चलचित्र ‘केडी: द डेभिल’ को एउटा गीतलाई लिएर उत्पन्न विवादले अहिले कानुनी र राजनीतिक मोड लिएको छ। गीतमा प्रयोग गरिएका ‘अश्लील’ शब्द र दृश्यका कारण भारतभर तीव्र विरोध भइरहेको छ।

विवादको जड चलचित्रको ‘आइटम नम्बर’ भनिएको गीत ‘सरके चुनर तेरी सरके’ हो। यो गीत मूल रूपमा कन्नड भाषामा रेकर्ड गरिएको थियो, तर यसको हिन्दी संस्करण सार्वजनिक भएपछि विवाद सुरु भयो।

आलोचकहरूका अनुसार गीतका बोलहरू अत्यन्तै भद्दा, द्विअर्थी र यौनजन्य आशयका छन्, जसले महिलाको गरिमामा आँच पुऱ्याएको छ। विशेषगरी गीतमा प्रयोग गरिएका केही हिन्दी शब्दहरूलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त गरिएको छ।

विवाद चर्किएपछि विभिन्न निकायहरूले कडा कदम चालेका छन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले यस मुद्दालाई गम्भीरतापूर्वक लिँदै केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई कडा निर्देशन दिएपछि उक्त गीतको हिन्दी संस्करणलाई युट्युब र अन्य डिजिटल प्लेटफर्मबाट हटाइएको छ।

१० जना वकीलहरूको एक समूहले गृह मन्त्रालयमा निवेदन दिँदै नोरा फतेहीको ‘श्रम स्वीकृति’ रद्द गर्न र उनलाई भारतबाट डिपोर्ट (निकाला) गर्न माग गरेका छन्। उनीहरूले विदेशी नागरिकले भारतीय संस्कृति र शालीनतामा खलल पुऱ्याउन नहुने तर्क गरेका छन्।

राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले पनि यस विषयमा उजुरी प्राप्त गरेपछि सम्बन्धित पक्षलाई स्पष्टीकरणका लागि बोलाएका छन्।

आफूमाथि चौतर्फी प्रहार भएपछि नोरा फतेहीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो बचाउ गरेकी छिन्। नोराले यो गीत ३ वर्षअघि कन्नड भाषामा खिचेको र त्यसबेला उनलाई अर्थ सामान्य बताइएको दाबी गरेकी छिन्। हिन्दीमा डब गर्दा र शब्दहरू परिवर्तन गर्दा निर्माण पक्षले उनलाई नसोधेको उनको भनाइ छ।

गीतको प्रमोसनमा आफ्नो र सञ्जय दत्तको एआइ-निर्मित तस्बिरहरू बिना अनुमति प्रयोग गरिएकोमा उनले कडा आपत्ति जनाएकी छिन्। हिन्दी संस्करण सुन्नेबित्तिकै आफूले विरोध गरेको र यो गीतको कुनै पनि प्रमोसनमा आफू सहभागी नभएको उनले स्पष्ट पारेकी छिन्।

हिन्दी गीतका लेखक रकीब आलमले आफूले ती शब्दहरू नलेखेको दाबी गरेका छन्। उनका अनुसार निर्देशक प्रेमले कन्नड गीतको हुबहु अनुवाद गर्न दबाब दिएका थिए। विवाद बढेपछि निर्देशक प्रेमले सार्वजनिक रूपमा माफी माग्दै गीतमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

यो विवादले आगामी अप्रिल ३०, २०२६ मा प्रदर्शन हुन लागेको चलचित्र ‘केडी: द डेभिल’ को बक्स अफिसमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। चलचित्रमा ध्रुव सर्जा, सञ्जय दत्त र शिल्पा शेट्टी जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ। यो घटनाले भारतीय मनोरञ्जन उद्योगमा ‘सेन्सरसिप’ र कलाकारहरूको ‘क्रिएटिभ कन्ट्रोल’ (सिर्जनात्मक नियन्त्रण) बारे नयाँ बहस छेडिदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *