तत्कालीन सिडिओको बयान- रबरको गोली चलाउने आदेश दिएको थिएँ
काठमाडौं । काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजालले जेनजी आन्दोलनका क्रममा एकीकृत विशेष सुरक्षा योजनाअनुसार खटिएका सुरक्षाकर्मीले तत्काल परिस्थितिको सामना गर्न बल प्रयोग गरेको देखिएको बयान दिएका छन्।
जाँचबुझ आयोगसँगको बयानमा आफूले कर्फ्यु जारी भएपछि पनि सुरक्षाकर्मीलाई धैर्यता र सुझबुझ नछोड्न निरन्तर निर्देशन दिइरहेको बताएका छन्।
बयानमा भनेका छन्, ‘मैले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश दिएको थिए। तर, अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश दिएको थिएन। सोही तनावपूर्ण अवस्थामा प्रहरीको रेडियो सेटबाट पहिले प्रहरी महानिरीक्षक र त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नु भन्ने आदेश दिएको मैले सुनेको थिएँ।’
यस्तो छ उनको बयान
भाद्र २३ गते बिहान ७ः०० बजेदेखि मैले आफ्नै कार्यकक्षमा जिल्ला सुरक्षा समितिको कमान्ड सेन्टर खडा गरी पदाधिकारीहरूसँगै बसेर अवस्था अनुगमन गरिरहेको थिएँ। बिहान करिब १०ः१५ बजेसम्म स्थिति सामान्य नै थियो। माइतीघरबाट शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन बिजुली बजार पुल हुँदै एभरेष्ट होटल अगाडि रहेको प्रहरी व्यापारिक तोडी अघि बढेपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने देखेर मैले गृहसचिवज्यूलाई फोन गरी जानकारी गराएँ र उहाँबाट “सिलसिलेवार रूपमा न्यूनतम बल प्रयोग गरी स्थिति नियन्त्रण गर्नु“ भन्ने निर्देशन प्राप्त भयो। प्रदर्शनकारीहरू सङ्घीय संसद् भवनतर्फ बढ्दै शान्तिभंग हुने अवस्था देखिएपछि मैले माननीय गृहमन्त्रीज्यू, श्रीमान् मुख्य सचिवज्यू र श्रीमान् गृहसचिवज्यूलाई समेत फोन गरी कफ्र्यू लगाउनुपर्ने अवस्था रहेको जानकारी गराएँ।
सबैबाट कर्फ्यु लगाएर भए पनि स्थिति नियन्त्रणमा लिनु भन्ने निर्देशन आएपछि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा १२ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरियो। नयाँ बानेश्वर क्षेत्रमा तनाव बढ्दै गएको थाहा पाएपछि दिउँसो करिब १२ः१५ बजे शान्ति कायम गराउने उद्देश्यले सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी.लाई पनि त्यतै पठाएको थिएँ।
करिब १२ बजेतिर संसद् भवन वरिपरि चारैतिरबाट प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्दै दक्षिण–पूर्व, पूर्व र पश्चिम–दक्षिणतर्फका गेटबाट भित्र प्रवेश गरेको सूचना पाएँ। हिंसा फैलिँदै जाँदा नागरिकको जीउ–धन तथा सार्वजनिक–निजी सम्पत्तिमा गम्भीर जोखिम देखिएपछि अन्तिम विकल्पका रूपमा कफ्र्यू आदेश जारी गर्नुपरेको हो।
जिल्ला सुरक्षा समिति, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग छलफल गरी परिस्थितिको गम्भीर समीक्षा पश्चात् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम समय र क्षेत्र सीमित गरी चरणबद्ध रूपमा कफ्र्यू आदेश जारी गरिएको थियो। कर्फ्यु जारी भएपछि पनि सुरक्षाकर्मीलाई धैर्यता नछोड्न, सेना लगायत थप सुरक्षाकर्मी आउँदै छन् भनी हतास नहुन निर्देशन दिँदै, भीड हटाउँदा न्यूनतम बल प्रयोग गर्ने, बालअधिकार र मानवअधिकारको ख्याल गर्ने र सुझबुझ नछोड्ने निर्देशन निरन्तर दिइरहेको थिएँ। मैले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश दिएको भए पनि अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश दिएको थिएन।
तर सोही तनावपूर्ण अवस्थामा प्रहरीको रेडियो सेटबाट पहिले प्रहरी महानिरीक्षक र त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नु भन्ने आदेश दिएको मैले सुनेको थिएँ। फिल्डको अत्यन्त तनावपूर्ण परिस्थितिका कारण संसद् भवन वरिपरि कति सङ्ख्यामा प्रदर्शनकारी थिए, कति बल प्रयोग भयो र कति घाइते वा हताहत भए भन्ने यकिन विवरण समयमै प्राप्त हुन सकेन।
आक्रमणकारीहरू हेलमेट लगाएर ढुङ्गा, इँटा, ह्यामर, घन, रड, छिनो र गुलेली जस्ता सामग्री लिएर सुरक्षाकर्मीमाथि जाइलागेको रिपोर्टहरू प्राप्त भए। प्रदर्शनकारीहरूले पर्खाल तोडेर वा नाघेर संसद् भवनभित्र पस्न खोज्दा त्यहाँ रहेका सांसद, कर्मचारी र संरचनाको सुरक्षाका लागि संसद् भवन परिसरभित्र मात्र गोली प्रहार भएको र बाहिर अन्यत्र गोली नचलेको जानकारी जिल्ला प्रहरी प्रमुख र अन्य सुरक्षा निकायका प्रमुखबाट मैले पाएको थिएँ। कफ्र्यूको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाको सहयोग माग गरिएको थियो तर प्रदर्शनकारीहरूको अवरोधका कारण सेना समयमै संसद् भवन पुग्न सकेन। करिब २ः१५ बजेतिर संसद् भवन अगाडि एक जना प्रदर्शनकारीको मृत्यु भएको जानकारी मैले पाएँ।
सुरक्षाकर्मीका अनुसार प्रदर्शनकारीहरू आक्रामक हुँदै चारैतिरबाट आगजनी र तोडफोडमा उत्रिए र प्रहरीमाथि जाइलागे। बल प्रयोगको सिद्धान्तअनुसार लाठीचार्ज, अश्रुग्याँस, हवाई फायर र रबरको गोली प्रयोग गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि संसद् भवन, त्यहाँ रहेका सांसद कर्मचारी, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल कानुन आयोग, लगानी बोर्डको कार्यालय र करिब चालीस हजार लिटर क्षमताको डिजेल रिजर्भको सुरक्षालाई समेत ध्यानमा राखी विशेष सुरक्षा दस्ता र एकीकृत विशेष सुरक्षा योजनाअनुसार खटिएका सुरक्षाकर्मीले तत्काल परिस्थितिको सामना गर्न बल प्रयोग गरेको देखिन्छ। मैले संसद् भवनलाई जोगाउने र प्रदर्शनमा उत्रिएका युवाहरूको ज्यानको पनि सुरक्षा गर्ने Dual Objective Doctrine अनुसार सुझबुझका साथ न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा मात्र घुँडाभन्दा तल लक्षित गरी रबरको गोलीसम्म चलाउने आदेश दिएको हो।
मिति २०८२ भाद्र २३ गतेको घटनापछि राति १०ः३० बजे जिल्ला सुरक्षा समितिको बैठक बसी २४ गतेको अवस्था नबिग्रियोस् भन्ने उद्देश्यले सोही राति १२ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कफ्र्यू लगाउने निर्णय गरियो र सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, तोडफोड र आगजनी रोक्न उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइयो। भदौ २४ गते बिहान ७ः३० बजे पुनः मिति २०८२ भाद्र २३ गतेको घटनापछि राति १०ः३० बजे जिल्ला सुरक्षा समितिको बैठक बसी २४ गतेको अवस्था नबिग्रियोस् भन्ने उद्देश्यले सोही राति १२ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कफ्र्यू लगाउने निर्णय गरियो र सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, तोडफोड र आगजनी रोक्न उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइयो। भदौ २४ गते बिहान ७ः३० बजे पुनः बैठक बसी बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरियो।
सोही दिन मलाई लक्षित गरी सामाजिक सञ्जालमा आक्रोश पोखिँदै मेरो मृत्यु भएको अफवाह फैलाइयो र ज्यान मार्ने धम्कीसमेत आउने फोनहरू आए, तर म कम्तीमा Vital Installation को सुरक्षा गर्न सकिन्छ कि भन्ने सोचका साथ काममै केन्द्रित रहेओ। गृह मन्त्रालयमा छलफलका क्रममा सिंहदरबारमै सुरक्षित छैन भन्ने सूचना पाएपछि करिब १ः४५ बजेतिर म नेपाली सेनाको नरसिंहदल गणमा गई बसेँ।
प्रधानमन्त्रीको राजीनामापछि राज्यको कार्यकारी नेतृत्वमा देखिएको रिक्तताले जनमानसमा थप अन्योल र आक्रोश सिर्जना गर्यो र कफ्र्यू हुँदाहुँदै पनि विभिन्न स्थानमा आगजनी, लुटपाट, सरकारी कार्यालय र निजी व्यवसायमाथि आक्रमण भयो। भीड अत्यधिक र बहुकेन्द्रीत आक्रमण लगभग एउटै समयमा भएकाले सबै स्थानमा एकै चोटि प्रभावकारी सुरक्षा दिन सम्भव भएन। सुरक्षाकर्मीको थकान, उपकरणको कमी, लामो समयको निरन्तर ड्युटी र मनोबलमा परेको असरले पनि चुनौती थपियो। भदौ २४ गते नेपाली सेनाले समयमै कारागारको ड्युटी नलिँदा नेपाल प्रहरीले मात्र सुरक्षा दिन नसकेर डिल्लीबजार कारागारबाट २० जना र केन्द्रीय कारागार सुन्धाराबाट ३५०० भन्दा बढी कैदी भाग्ने अवस्था आयो।







डिसी नेपाल







Facebook Comment