कांग्रेसको १५औं महाविधेशनको कार्यतालिका सार्वजनिक

डिसी नेपाल
१२ चैत २०८२ ७:२२
184
Shares

काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

वैशाख महिनाभरि वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। सार्वजनिक कार्यतालिकाअनुसार जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी आगामी जेठ मसान्तसम्म केन्द्रमा पठाउनु पर्नेछ। केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी आगामी असार १५ गतेसम्म टुङ्गो लगाउने समयसीमा तोकिएको छ।

यस्तै, अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्तसम्मलाई तोकिएको छ।

केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराई अधिवेशन प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ।

कार्यतालिकाअनुसार, आगामी भदौ २ गते सबै वडा समितिको सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ भने भदौ ७ गते गाउँ नगरपालिका अधिवेशन गरिनेछ।

भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने र महाधिवेशन गरिनेछ। यस्तै, आगामी असोज २ र ३ गते जिल्ला अधिवेशन गरिनेछ।

यस्तै, महाविधेशनका अन्य कार्यक्रम तय गर्नुका साथै विभिन्न १६ वटा निर्णय गरिएका पार्टी केन्द्रीय कार्यालयका कावा मुख्यसचिव दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *