लुम्बिनी विकास बैंकद्वारा रौतहटको विद्यालयलाई ‘स्यानिटरी प्याड भेन्डिङ र डिस्पोज’ मेसिन सहयोग

डिसी नेपाल
१२ चैत २०८२ १६:०६
12
Shares

रौतहट। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिकास्थित नमुना माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बैंकको गरुडा शाखाले विद्यालयमा अध्ययनरत करिब १२ सय छात्राहरूको स्वास्थ्य र रजस्वला स्वच्छतालाई ध्यानमा राख्दै ‘स्यानिटरी प्याड भेन्डिङ’ र ‘स्यानिटरी प्याड डिस्पोज’ मेसिन हस्तान्तरण गरेको हो।

एक विशेष कार्यक्रमका बीच बैंकका गरुडा शाखा प्रबन्धक सुबोध कोइरालाले विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेललाई उक्त मेसिनहरू हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले समाजमा रहेका विभिन्न संघ–संस्थाहरूले यसरी नै सहकार्य गरेमा नगरको मुहार फेरिने विश्वास व्यक्त गरे। उनले बैंकको यस कार्यको प्रशंसा गर्दै अन्य संस्थाहरूलाई पनि सामाजिक कार्यमा जोडिन आग्रह गरेका छन्।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सन्तोष साहले विद्यालयको आग्रहलाई स्वीकार गरी सहयोग गरेकामा बैंकप्रति आभार प्रकट गरे।

नगरपालिकाका शिक्षा शाखा प्रमुख सरोज गौतमले विद्यार्थीहरूलाई आफ्नो केही समय समाज सेवामा पनि समर्पित गर्न सुझाएका छन्।

विद्यालयका प्रधानाध्यापक पटेलले स्यानिटरी प्याड मेसिनको उपलब्धताले महिनावारीको समयमा छात्राहरू विद्यालय अनुपस्थित हुने समस्या कम हुने बताए।

बैंकका शाखा प्रमुख कोइरालाले बैंक केवल आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै गम्भीर रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूलाई डिजिटल प्रविधिबाट हुन सक्ने ठगीबाट बच्न र आफ्ना अभिभावकहरूलाई सचेत गराउन समेत आग्रह गरेका छन्।

‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ अघि बढिरहेको लुम्बिनी विकास बैंकका हाल देशका सातै प्रदेशमा ८९ वटा शाखाहरू र १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *