रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
रामेछाप। गए राति रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी ड्राइभर सनमा ठूलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने-जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन्।
गत वर्ष आएको बाढीले राजमार्गमा ठूलो क्षति पुर्याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो। सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। तर, गए राति आएको बाढीले ती ड्राइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।
नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक आएको बाढीले ड्राइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। उनका अनुसार सडक सञ्चालन नहुँदा कतिपय सवारी बिच बाटोमै रोकिएका छन्।
यसैबिच, रामेछाप निर्वाचन क्षेत्र ‘ख’को मुख्य प्रवेशद्वार मानिने नेपालथोक-खैरेनी घाट पुल जोड्ने रोशी खोलाको अस्थायी ड्राइभर्सनसमेत बगाएको छ। उक्त मार्गमा क्षति पुगेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीका कारण यात्रु तथा सवारी साधन अलपत्र परेका छन् भने स्थानीय वासीलाई आवतजावतमा ठूलो कठिनाइ भएको छ। सम्बन्धित निकायले क्षतिको मूल्याङ्कन गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment