केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेद्वारा देशव्यापी विरोध कार्यक्रम घोषणा

डिसी नेपाल
१४ चैत २०८२ १२:३०
916
Shares

काठमाडौं । नेकपा एमाले सचिवालयको आकस्मिक बैठकले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

पार्टीको आकस्मिक सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई गैरकानुनी तरिकाबाट पक्राउ गरिएको बताएका छन् ।

बैठकले उक्त कदम लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको भन्दै कडा शब्दमा निन्दा, भत्र्सना र विरोध जनाउने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष ओलीसँगै रमेश लेखकलाई गरिएको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी कदमको रूपमा व्याख्या गरेको छ । एमालेले दुवै नेताको तत्काल रिहाइको माग गरेको छ ।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष तथा नेपाल सरकारका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी तरिकाबाट गिरप्तार गरिसकेपछि पार्टीको आकस्मिक सचिवालय बैठक बसेको थियो ।

बैठकले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान गरिएको प्रतिसोधपूर्ण पूर्वाग्रही र गैरकानुनी गिरप्तारीको निन्दा भत्र्सना र विरोध गर्दछ । उक्त गिरप्तारी लोकतान्त्रिक मूल्य कानुनी शासनको मर्म विपरित रहेको हुनाले तत्काल रिहाई गर्न माग गर्दछ ।’

यसैबीच, २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगप्रति पनि एमालेले पुनः असहमति जनाएको छ । पार्टीका अनुसार उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिसोधपूर्ण र अनुसन्धानका न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गरिएको छ । साथै, सर्वोच्च अदालतले समेत आयोगमाथि गम्भीर प्रश्न उठाइसकेको उल्लेख गरिएको छ ।

एमालेले सो घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

उनले भने , ‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालिन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरुदेखि नै असहमति र विरोध रहँदै आएको छ । उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भिर प्रश्नहरु उठाएको कुरा छ । आयोगद्वार प्रस्तुत गरिएको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरित रहेको हाम्रो पार्टीको ठहर छ । तसर्थ उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वौच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरिय छानविन आयोग गठन गर्न यो बैठक माग गर्दछ ।’

पार्टीले अध्यक्ष ओली र नेता लेखकको पक्राउलाई नियोजित तथा निर्देशित कदम भन्दै यसको विरोधमा लोकतन्त्र, कानुनी शासन र मानवअधिकारको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग संयुक्त तथा प्रभावकारी पहलका लागि आह्वानसमेत गरेको छ ।

यसैगरी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको तत्काल रिहाइको माग गर्दै विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
बैठकले वर्तमान परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

घोषित कार्यक्रमअनुसार, आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ । त्यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ ।

यसैगरी, बैठकले लोकतन्त्र र कानुनी राज्यको पक्षमा रहेका अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *