पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

डिसी नेपाल
१४ चैत २०८२ २०:१२
44
Shares

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ। वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन्।

इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठूलो सपना छैन। एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस्। तर, उनका लागि सहज रूपमाजीविकोपार्जनमा समस्या छ।

फरक क्ष्मता (अपाङ्गता) हुनुभएका लिम्बू स्पष्टसँग बोल्न सक्नुहुँदैन। बाँसको टाँटीले बेरिएको जीर्ण घरमा उहाँ श्रीमती र नौ वर्षीया कान्छी छोरीसँग बस्दै आएका छन्। ‘हावाहुरी चल्दा, पानी पर्दा मन पोल्छ’, कृष्णबहादुरले श्रीमती र छोरीलाई देखाउँदै भने, ‘यिनीहरूलाई ओताउने घर बनाउने मन छ।’

दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्नु उहाँको बाध्यता हो। गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्नेलगायत मजदुरी गरेर उहाँले गुजारा चलाउँदै आएका छन्। सीमित आम्दानीबीच पनि उनले एउटा गाई, केही बाख्रा र सुङ्गुर पालेका छन्। ‘त्यसैको आम्दानीले हातमुख जोड्न सकेका छौँ, छोरीको स्कूल खर्च धान्ने पनि त्यसैबाट हुन्छ’, कृष्णबहादुरले भने।

उनका तीन सन्तान छन्। दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ भने छोरालाई आफन्तकोमा राखेका छन्। अहिले कक्षा छमा पढ्दै गरेकी नौ वर्षीया कान्छी छोरी उनीसँग छिन्। दुई कोठे सानो घर, एउटा भान्सा र शौचालयसहितको सुरक्षित बास उनको जीवनको सपना हो। गाउँघरमा जोसँग भेट भए पनि उहाँ यही कुरा दोहोर्‍याउँछन् ‘घर बनाउनु छ।’ उनको बोली अस्पष्ट भए पनि भावनाले सबैलाई छुन्छ।

यसैबीच उनको अवस्थाबारे थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान सुरु गर्नुभएको छ। फेसबुकबाट सुरु भएको उक्त अभियानले छोटो समयमा उल्लेख्य साथ पाएको छ।

‘हालसम्म करिब रु तीन लाख ५० हजार सहयोग सङ्कलन भइसक्यो’, जबेगुले भने, ‘कृष्णबहादुरको नाममा बैंक खाता खोलेर सहयोग सङ्कलन भइरहेको छ। वैशाखसम्म कम्तीमा रु पाँच लाख सङ्कलन गरेर घर निर्माण सुरु गर्ने लक्ष्य छ।’ कृष्णबहादुरको चाहना अनुसार दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाउने तयारी भइरहेको उनले जानकारी दिए।

जीवनभर सङ्घर्षमा बिताउनुभएका कृष्णबहादुरसम्म आफ्नो सपना पूरा हुन लागेको खबर पुगेको छ। उनले हँसिलो मुहारमा घर बनाउने घडेरी देखाउँदै भने, ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *