छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको ज्याज गएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डास्थित सडकमा लु.प्र ०१-००१ ख ०३७२ नम्बरको बसले बा.८२ प ८०७२ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंज गुरूङ टोलस्थित सडकमा ना.३० प ७५०१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषको मृत्यु भएको छ। शुक्रबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-४ घिउखोलास्थित सडकमा ना.७ ख ९३९८ नम्बरको ट्रकले लु.२ ख २३५१ नम्बरको बस र ना.५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिई गए राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा बसमा सवार रोल्पा बागमारा बस्ने २५ वर्षीय गोबिन बुढा, हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष र ट्रकका सहचालक बर्दिया, बर्दिया नगरपालिका-७ सिउनिया बस्ने २६ वर्षीय नारयण थारू रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको परासी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बस चालक, बसमा सवार १० जना, ट्रक चालक र ट्रकमा सवार १ जनाको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ।
मोरङको रंगेली नगरपालिका-१ पोखरी टोलस्थित सडकमा कर्सियाबाट बबियाबिर्तातर्फ जाँदै गरेको प्रदेश ०३-००१ त ७१५१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बस्ने ५० वर्षीय होली ऋषिदेवको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काभ्रेको बनेपा नगरपालिका-३ तिनघरेस्थित सडकमा तिनघरेबाट बनेपातर्फ आउँदै गरेको बा.२ ख ४८९४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ तिनघरे बस्ने १६ वर्षीय राजेश तामाङको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी काभ्रेको बनेपा नगरपालिका-८ स्थित सडकमा बा.१९ च ५७४७ नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० पुलबजार बस्ने ८० वर्षीय गंगालाल मानन्धरको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको मिथिला विहारी नगरपालिका-४ कजरास्थित सडकमा कजराबाट ललियातर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प १९०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अशोक मुखियाको छोरा ५ वर्षीय रितिक मुखियाको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment