पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

डिसी नेपाल
१५ चैत २०८२ ६:४५
108
Shares

काठमाडौं। पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत लगिँदै छ। दुवै नेतालाई शनिबार काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार ओलीलाई चिकित्सकको सल्लाहमा त्रिवि शिक्षण अस्पताल र लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिताको ज्यानसम्बन्धी कसुर (लापरबाही र हेलचेक्य्राइँ गरी ज्यान मारेको) मा अनुसन्धान अघि बढाइएको छ ।

गत भदौ २३–२४ गते नवयुवा पुस्ता (जेनजी) ले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भए भने आक्रोशित प्रदर्शनकारीले राज्यका महत्वपूर्ण संरचना, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सुरक्षा निकाय तथा सरकारी भवनहरू र व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड एवं लुटपाट गरी अर्बौंको क्षति पुर्‍याएका थिए।

उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *