ओली-लेखक पक्राउपछि कोशीको राजनीति : एमाले सडकमा, कांग्रेसभित्र दुई धार

डिसी नेपाल
१५ चैत २०८२ १०:०७
76
Shares

विराटनगर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै कोशी प्रदेशको राजनीतिक माहौल तातेको छ। पक्राउको विरोधमा एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् भने कांग्रेसभित्र भने फरक-फरक धार देखिएको छ।

एमालेको आन्दोलन : जिल्ला-जिल्लामा प्रदर्शन

ओली पक्राउ परे लगत्तै नेकपा एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै आन्दोलनको आह्वान गरेको थियो। सोही अनुसार शनिबार प्रदेशभर विभिन्न जिल्लामा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्।

प्रदेश अध्यक्ष घटिवडा ले पक्राउलाई ‘प्रतिशोधपूर्ण कदम’ भन्दै तत्काल रिहाइको माग गरेका छन्। ‘पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न र प्रतिशोधपूर्ण गतिविधि बन्द गर्न सरकारसँग माग गर्दछौँ,’ उनले बताएका छन्।

एमालेले आइतबार सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ भने आन्दोलनलाई निरन्तरता दिने संकेत पनि दिएको छ। यसैबीच, अनेरास्ववियु कोशी प्रदेशका पूर्व अध्यक्ष जीवी गजलले सामाजिक सञ्जालमार्फत सरकारमाथि कडा टिप्पणी गरेका छन्।
उनी लेख्छन्, ‘यिनीहरू देश बनाउन आएकै होइनन्, देशलाई राजनीतिक मुठभेडमा लैजान र देशलाई खरानी बनाउन आएका हुन् । यो गिरोहको आयु धेरै लामो छैन।’

एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले लोकतन्त्रमा प्रतिशोधको स्थान नहुने उल्लेख गर्दै संयतता अपनाउन आग्रह गरेका छन् । उनले देशलाई द्वन्द्वतर्फ धकेल्ने गतिविधि नगर्न चेतावनी दिएका छन्।

कांग्रेसमा दुई धार

उता, नेपाली कांग्रेस भित्र भने नेता लेखकको पक्राउपछि मतभेद सतहमा देखिएको छ। कांग्रेस नेता मीन विश्वकर्मा ले पुर्णबहादुर खड्का द्वारा ‘कार्यवाहक सभापति’का रूपमा जारी गरिएको विज्ञप्ति साझा गर्दै राजनीतिक परिस्थितिको सामना गर्न तयार रहन आह्वान गरेका छन्।

तर, सोही विषयलाई लिएर पार्टीभित्र वैधानिकता र नेतृत्वको भूमिकाबारे प्रश्न उठिरहेका छन्, जसले कांग्रेसभित्र दुई धार स्पष्ट देखाएको छ। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेता केदार कार्कीले भने कानुनी प्रक्रिया र विधिको शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। ‘दोषी जोसुकै भए पनि निष्पक्ष कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्छ,’ उनले बताएका छन्।

भीडको दबाब वा पूर्वाग्रहका आधारमा गरिने कारबाहीले न्याय प्रणाली कमजोर बन्ने चेतावनी दिँदै उनले पाकिस्तान र बङ्गलादेश जस्ता अस्थिर अवस्थातर्फ नधकेलिन सचेत रहन आग्रह गरेका छन्।

त्यसैगरी, पार्टीभित्र देखिएको मतभेदप्रति चिन्ता व्यक्त गर्दै उनले एकताको महाधिवेशनमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। ‘एक-एक पाइला पछि सारौँ, पार्टीलाई दुई पाइला अघि बढाऔँ। हठ त्यागौँ, संवाद गरौँ,’ उनको आग्रह छ।

ओली र लेखकको पक्राउसँगै कोशी प्रदेशमा राजनीतिक ध्रुवीकरण तीव्र बनेको छ । एकातिर एमाले सडक आन्दोलनमा उत्रिएको छ भने अर्कोतर्फ कांग्रेसभित्रै मतभेद चुलिँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *