नमुना कलेजको २०औँ ग्राजुएसन फेसन शोः प्रकृतिबाट प्रेरित सिर्जनात्मक फेसन कथाको प्रस्तुति
काठमाडाैं। नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) द्वारा आयोजित २०औँ ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्” सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ।
शनिबार, २८ मार्च २०२६ मा झम्सिखेल, ललितपुरस्थित द प्लाजा नेपालमा आयोजित उक्त कार्यक्रमले रनवेलाई प्रकृति र फेसनबीचको सम्बन्धलाई कथात्मक ढंगले प्रस्तुत गर्ने जीवन्त मञ्चमा रूपान्तरण गरेको थियो ।
फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रममा छ वटा अवधारणामा आधारित संग्रहहरू प्रस्तुत गरिएका थिए। ती संग्रहहरूले नेपालको विविध प्राकृतिक भू–परिदृश्य तथा जैविक विविधताको सौन्दर्यलाई समकालीन फेसनमार्फत प्रभावकारी ढंगले अभिव्यक्त गरेका थिए ।

“विविधायन सौन्दर्यम्” अर्थात् विविधताबाट जन्मिने सौन्दर्य भन्ने मूल विचारले सम्पूर्ण प्रस्तुतिको दार्शनिक आधार तयार गरेको थियो। नेपालका वन, सिमसार क्षेत्र, हिमाली भूभाग, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लिँदै डिजाइनरहरूले प्रकृतिका विभिन्न तत्वलाई फेसन कथामा रूपान्तरण गरेका थिए।
रनवेमा ६२ वटा विशिष्ट डिजाइनर पोशाकका साथै छ वटा विशेष “क्रिएटिभ मास्टरपिस” पनि प्रदर्शन गरिएका थिए, जसले प्रकृति, संस्कृति र समकालीन डिजाइनबीचको सन्तुलित संयोजनलाई उजागर गरेका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर को रनवे उपस्थितिबाट भएको थियो। उनी प्रमोशनल मोडलहरूसँगै रनवेमा उपस्थित भई कार्यक्रमको उद्घाटन गरिन्। कार्यक्रमको सम्पूर्ण कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्य ले गरेका थिए।

उनको सशक्त दृश्य संयोजनले प्रस्तुत संग्रहहरूको अवधारणा र सिर्जनात्मक दृष्टिलाई अझ प्रभावकारी बनाएको थियो। कार्यक्रममा व्यावसायिक मोडल र एनसीएफटीका विद्यार्थी गरी कुल ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई आकर्षक ढंगले प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन २०औँ ब्याचका विद्यार्थीहरूको व्यवस्थापकीय टोलीले पर्दा पछाडि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। रिया श्रेष्ठ, ईशा महर्जन, सन्ध्या निरौला र सरस्वती सिंह ले कार्यक्रम व्यवस्थापन र समन्वयमा सक्रिय योगदान दिएका थिए।

साँझको पहिलो संग्रह “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो” ले हिमनदी र जलप्रवाहबीचको परिवर्तनशील सम्बन्धलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको थियो। हिमनदी पग्लिएर बग्ने जलधाराबाट प्रेरित यस संग्रहमा प्रारम्भमा संरचित आकृतिहरू देखिए भने पछि ती क्रमशः तरल र प्रवाहमय सिल्हुएटमा रूपान्तरण भएका थिए। सेतो, सिल्भर, टिल र जेड रंगहरूको प्रयोगले प्रकृतिमा हुने परिवर्तन र रूपान्तरणलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गरेको थियो ।

यसपछि प्रस्तुत “इरिडेसन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगेन्स” संग्रह भृंगाहरूको सुरक्षात्मक बाहिरी संरचनाबाट प्रेरित थियो। इरिडेसन्ट रंगहरू र सशक्त वास्तुकलात्मक सिल्हुएटहरूको संयोजनले शक्ति र सौन्दर्यबीचको सन्तुलनलाई सुन्दर ढंगले प्रस्तुत गरेको थियो ।
तेस्रो संग्रह “आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङ” ले माटोको गहिराइभित्र चल्ने प्राकृतिक प्रक्रियाहरूलाई आफ्नो विषयवस्तु बनाएको थियो। सतही बनावटबाट सुरु भएर गहिरो र सुरक्षात्मक संरचनातर्फ विकसित हुने डिजाइनहरूले स्मृति, दबाब र पुनर्जन्मको प्रतीकात्मक कथा अभिव्यक्त गरेका थिए ।

हिमाली प्रेरणाबाट सृजित “एभियोराः विङ्स अफ द हिमालय” संग्रहले उडान, स्वतन्त्रता र आकांक्षाको भावलाई व्यक्त गरेको थियो। हल्का कपडा, पखेटाजस्ता संरचना र गतिशील सिल्हुएटहरूले हिमाली परिवेशको उचाइ, शक्ति र सहनशीलतालाई प्रतिबिम्बित गरेका थिए ।

पर्यावरणीय सचेतनालाई केन्द्रमा राखेर प्रस्तुत गरिएको “रेड लिस्ट रिभेरी” संग्रहले नेपालका संकटग्रस्त वन्यजन्तु—हिमचितुवा, रातो पाण्डा र घडियाल—तर्फ ध्यान केन्द्रित गराएको थियो। माटोका रंग, संरचित डिजाइन र गाढा रातो रंगको प्रयोगले संरक्षण र अस्तित्वको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो ।
कार्यक्रमको अन्तिम संग्रह “वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल” ले नेपालको पुष्पीय विविधतालाई काव्यात्मक शैलीमा प्रस्तुत गरेको थियो। गुलाबी र हरिया रंगको संयोजन, कोमल कपडा र सुन्दर सिल्हुएटहरूले गुलाब, लालीगुराँस, अर्किड, कमल र लिली जस्ता फूलहरूको सौन्दर्यलाई कलात्मक रूपमा अभिव्यक्त गरेका थिए ।

यी छवटै संग्रहहरूले समकालीन नेपाली फेसनको विकसित हुँदै गएको पहिचानलाई उजागर गरे, जहाँ फेसन केवल वस्त्र निर्माणको सीमाभित्र सीमित नरही विचार, कथा र भावनात्मक अभिव्यक्तिको माध्यमका रूपमा प्रस्तुत भएको देखियो। प्रत्येक संग्रहको अन्त्यमा प्रस्तुत गरिएको “मास्टरपिस” डिजाइनले डिजाइनरको अवधारणा र सिर्जनात्मक यात्राको सारलाई प्रतिनिधित्व गरेको थियो ।
कार्यक्रमा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करणको सार्वजनिक विमोचन पनि गरिएको थियो । उक्त क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा. कल्याणी मिश्रा त्रिपाठी, व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर, मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपाल तथा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा विमोचन गरेका थिए । विमोचन परिवेशषमा कलेजका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ तथा एनसीएफटीको १९औँ ब्याचका कार्यक्रम संयोजकहरूको पनि उपस्थिति रहेको थियो ।

२०औँ ब्याचका विद्यार्थी डिजाइनरहरूको सिर्जनालाई मूल्यांकन गर्न प्रतिष्ठित निर्णायक मण्डल सहभागी भएको थियो। निर्णायक मण्डलमा सीटीईभीटीका पूर्व उपाध्यक्ष डा. कुल बहादुर बस्नेत, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधान, फेसन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा. सुनिल चित्रकार, फेसन डिजाइनर मुक्ता श्रेष्ठ र मनिश राई, तथा मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर एवं मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय रहेका थिए।
यो ग्राजुएसन फेसन शो पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्ट (बिएफडिएम) कार्यक्रमको महत्वपूर्ण शैक्षिक अङ्ग हो। यसले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान, सिर्जनात्मक सोच तथा डिजाइन नवप्रयोगहरू सार्वजनिक रूपमा प्रस्तुत गर्ने व्यावसायिक मञ्च प्रदान गर्दछ।







डिसी नेपाल







Facebook Comment