कांग्रेस विवाद उत्कर्षमा, गगन र देउवा पक्ष आमने सामने

डिसी नेपाल
१७ चैत २०८२ ७:३८
216
Shares

काठमाडाैं। विशेष महाधिवेशनपछि दुई खेमामा विभाजित रहेको नेपाली कांग्रेस फेरि विभाजनको संघारमा पुगेको छ। पार्टी नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै कांग्रेस फेरि विभाजनको संघारमा पुगेको हो।

१४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि नेपाली कांग्रेस औपचारिक फुटको संघारमा पुगेको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति आमनेसामने भएको छ।

पूर्वसभापति देउवा पक्षले आज १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ। बैठक मंगलबार र बुधबार दुई दिनसम्म चल्ने बताइएको छ।

पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष अब खुला टकराबमा रूपान्तरित भएको छ, जसले कांग्रेसलाई कांग्रेस विभाजनको संघारमा पुगेको हो। विशेष महाधिवेशनबाट अध्यक्षमा निर्वाचित गगन थापा पक्षले देउवा पक्षका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई कारवाही गर्ने तयारी थालेपछि कांग्रेस औपचारिक रुपमा विभाजनको संघारमा पुगेको हो।

पूर्वगृहमन्त्री लेखक पक्राउ प्रकरणलाई लिएर नेपाली कांग्रेसका दुवै समूहको धारणा फरक-फरक आएको छ। लेखक पक्राउ परेपछि कांग्रेसमा समानान्तर गतिविधि सुरु भएको छ।

लेखकलाई पक्राउ गरिएपछि कांग्रेसका तर्फबाट समानान्तर विज्ञप्ति आएका छन्। पार्टीको संस्थापनका तर्फबाट प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेका छन्। लेखक पक्राउपछि जारी विज्ञप्तिमा पक्राउबारे दुई पक्षका फरक-फरक धारणा छन्।

तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक, अर्का पूर्वमन्त्री दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने उल्लेख छ।

ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउवा पक्षले अलग-अलग विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका थिए। संस्थापन पक्षले गत २३ र २४ भदौका दुवै घटनाका दोषीउपर विधि र पक्रियासम्मत तरिकाले हुने कारबाहीमा पार्टीको साथ रहने विज्ञप्तिमा उल्लेख छ।

तर, देउवा पक्षले ओली र लेखक पक्राउ राजनीतिक प्रतिशोध भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ। देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेस संस्थापन पक्षले बुधबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।

देउवा पक्षको बैठकको भोलिपल्टै बुधबार दिउँसो १ बजे बस्ने बैठकमा देउवा पक्षबाट भएको गतिविधि र निर्वाचनमा भएको अन्तर्घातबारे छलफल केन्द्रित हुने सूचनामा उल्लेख छ।

पार्टी केन्द्रीय कार्यसमितिले १६-१९ असोजमा काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय लिइसकेको अवस्थामा देउवा पक्ष अदालतको फैसला नआएसम्म प्रक्रियामा सहभागी नहुने बताउँदै आएको छ।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिने निर्णयविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यबाहक सभापति खड्काले अदालतमा रिट दायर गरेका छन्। उक्त रिटको पेसी यही २२ चैतमा तोकिएको छ।

पूर्वसभापति देउवा हाल सिंगापुरमा छन्। देउवा निर्वाचनअघि १३ फागुनमा सिंगापुर गएका थिए। केही दिनअघि देउवा हङकङ गएको देउवाको सचिवालयले जनाएको छ।

विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रक्रियामाथि देउवा पक्षले सुरुदेखि नै प्रश्न उठाउँदै आएको छ। निर्वाचन आयोगसँगको ‘सेटिङ’मार्फत थापा समूहलाई मान्यता दिलाइएको आरोप लगाउँदै खड्काले यस विषयमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। जुन अहिले विचाराधीन छ।

देउवा पक्षले नियमित महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान लिँदै आएको छ। तर, थापा-विश्वप्रकाश समूहले उक्त निर्णयलाई बेवास्ता गर्दै आफ्नै पहलमा विशेष महाधिवेशन गरेर नेतृत्व कब्जा गरेको आरोप छ।

यता सभापति गगन थापा पक्ष भने देउवा पक्षकाे गतिविधिले आक्रोशित भएको छ। थापाले सोमबार पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेका थिए। बुधबार अनुशासन समितिको बैठक बोलाइएको छ।

बैठकले देउवा पक्षका नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’कै हैसियतमा पार्टीको लेटरहेड प्रयोग गरी शनिबार निकालेको विज्ञप्ति र मंगलबार बस्न लागेको बैठकका बारेमा छलफल गर्ने भएको छ।

त्यस छलफलको आधारमा अनुशासन समितिले कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने चेतावनी संस्थापन पक्षीय नेताहरूले दिएका छन्। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिकै हैसियत राखेर पार्टीको लेटरहेडमा विज्ञप्ति निकालेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *