इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश

डिसी नेपाल
१८ चैत २०८२ ८:२२
80
Shares

सुर्खेत । इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृहमा पठाइने भएको छ ।

अदालतका सूचना अधिकारी उज्ज्वल रावलकारअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो । सोमबारदेखि बाल इजलासमा सुनुवाइ भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

प्रहरीले अनुसन्धानकाक्रममा इनिशा घटनामा सामूहिक बलात्कारको तथ्य फेला नपरेको भन्दै मुख्य अभियुक्तलाई जवरजस्तीकरणीसहित कर्तव्य ज्यान र अन्य तीन जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागवादी गरी अभियोग दायर गरेको थियो ।

उक्त अभियोग अनुसार २१९ को उपदफा ३ को खण्ड (घ) बमोजिम जबरजस्ती करणीमा १० देखि १२ वर्ष कैद सजाय र कसुर प्रमाणित भयो भने पीडितलाई क्षतिपूर्ति दिने गरी पाँच लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान अन्तर्गत आजीवन कारावासको माग दाबी गरिएको छ ।

दुवै पक्ष प्रदर्शनमा

इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरिए पछि इनिशा प्रकरणमा दुवै पक्ष प्रदर्शनमा उत्रिएका छन् । आइतबार अदालतमा अभियोग दर्ता गरिएसँगै सोमबारदेखि आरोपित पक्षका आफन्तहरू पनि प्रदर्शनमा उत्रिएका हुन् ।

२५दिनदेखि इनिशाका आफन्त र अधिकारर्कीहरुले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् ।

आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसँगै पक्राउ परेका किशोरहरूका आफन्तहरू पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले मंगलबार सरकारी वकिल कार्यालय अगाडि धर्ना दिएका छन् । अदालतमा इनिशाका आफन्त र अधिकारकर्मीहरूले धर्ना दिएका थिए । इनिशाको सामूहिक बलात्कार पछि हत्या गरिएको भन्दै पक्राउ परेकालाई कानुनी कारबाही गर्न उनीहरूको दबाब बढाई रहेका छन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदन विपरीत सरकारी वकिल कार्यालयले आरोपित चार जनालाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा निर्दोषलाई फसाउन खोजिएको आरोपितका आफन्तहरूको आरोप छ । न्यायालयले तथ्य र प्रमाणका आधारमा नभई हचुवाका आधारमा अभियोजन गरेको भन्दै आरोपित पक्षका आफन्तहरूले मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे ।

बजारमा प्रदर्शन पछि सुर्खेत जिल्ला अदालत अगाडि धर्नामा बसेका उनीहरूले सरकारी वकिलविरुद्ध राजाबाजीसमेत गरेका छन् । निर्दोषलाई फसाउन खोजिएको भन्दै उनीहरूले सरकारी वकिलविरुद्ध बाराबाजी गरे । एक जनाले गल्ती गरे पनि साथीलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरूको आरोप छ ।

फागुन २३ गते मृत्यु भएकी इनिशाको शव २६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ । इनिशाका आफन्तहरूले पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै परिवारले पुनः अनुसन्धानको माग गरिरहेका छन् ।

सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *