राष्ट्रिय सभाको २०औं अधिवेशन तयारीबारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

डिसी नेपाल
१८ चैत २०८२ १७:०४
40
Shares

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ। बैठक अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको हो।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय सभाको २०औं अधिवेशनको पूर्वतयारीबारे व्यापक छलफल गरेको छ। साथै, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुलाई विभिन्न समितिमा विभाजन लगायतका विषयमा पनि विचार–विमर्श गरिएको थियो।

छलफलका क्रममा सभाको आगामी बैठकको कार्यसूची, बैठक कक्षको सीट योजना, तथा प्रस्तावित कार्यतालिकाका विषयमा निर्णयात्मक छलफल भएको समितिले जनाएको छ। त्यस्तै, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन, सभामा अध्यक्षता गर्ने सदस्यहरूको चयन, उपाध्यक्ष र सभापतिको निर्वाचन प्रक्रिया लगायतका विषय पनि बैठकको एजेन्डामा समेटिएका थिए।

यसैगरी, विभिन्न दलका नेताहरूलाई शुभकामना मन्तव्य राख्नका लागि समय निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ। बैठकमा अन्य विविध विषयहरूमा समेत विचार आदानप्रदान गरिएको थियो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशनलाई सफल बनाउन सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको आवश्यकता औंल्याए। उनले सहकार्य र सहजीकरणका लागि सबै पक्षलाई आग्रह गरे।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *