एसईई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा

डिसी नेपाल
१८ चैत २०८२ २१:०६
28
Shares

भक्तपुर। यसवर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसईई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

उनले भने, “परीक्षाको सबै तयारी पूरा गरेका छौँ, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरूसँग जुम बैठक सम्पन्न गर्‍यौँ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रूपमा परीक्षा हुनेमा ढुक्क छौँ, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आह्वान गर्दर्छौँ।”

चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उनले जानकारी दिए। परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन्। परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य सात जना परीक्षार्थी रहेका छन्।

उहाँका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोलि परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन्।

बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो।

पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै परीक्षा नियन्त्रक अधिकारीले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए।

परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाइ गरी प्रश्नपत्र सबै जिल्लामा पुगेको जानकारी दिँदै उनले परीक्षामा सोधिने प्रश्न छ वटै अनिवार्य विषयका प्रदेशअनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्द गरी पुनःप्रश्नपत्र छपाइ गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।

प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन्। यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको छ। विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ। तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ। लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।

एक महिनामा नतिजा प्रकाशन गरिने

प्रधानमन्त्री बालेन्द्र शाहको १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभएपछि बोर्डले एक महिनामै नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउँदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो। यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो।

परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरूमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यसवर्ष एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिए।

यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धाङ्कपत्र शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ। शिक्षा विकास तथा समन्वय एकाइले तोकिएको समयमा लब्धाङ्कपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *