मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
मुस्ताङ। मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ।
एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२६ को जनवरीदेखि मार्चसम्म सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना र अन्य मुलुकबाट पाँच हजार ६७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए।
यसअघि सन् २०२५ को जनवरी, फ्रेब्रअरी र मार्च महिनामा कूल २८ हजार ७४४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ। उक्त समयको तीन महिनामा सार्कतर्फ २४ हजार ८४७ जना र अन्य मुलुकबाट तीन हजार ८९७ जनाले मुस्ताङको भ्रमण गरेका थिए।
सन् २०२५ को तीन महिनाको तुलनामा सन् २०२६ को जनवरीदेखि मार्च महिनामा सार्क राष्ट्रतर्फ १३ हजार १४२ जना अर्थात (३४.५९) प्रतिशत र अन्य राष्ट्रतर्फ एक हजार १७० जना अर्थात (२३.०९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको एक्याप प्रमुख गुप्तले बताए।
सन् २०२४ मा कूल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। सन् २०२५ मा कूल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment