हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको छ । साथै निजी क्षेत्रसँग सहकार्य बढाएर उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, उद्यमशीलता विकास र श्रम बजारको व्यवस्थापनमा केन्द्रित निर्णयहरू गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री थापाले बैठकमा प्रदेशमा बढ्दो बेरोजगारी चुनौतीलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले भने, ‘रोजगारी सिर्जना, सीप विकास र श्रमिक अधिकार संरक्षण सँगसँगै अघि बढाउन मन्त्रालयले आवश्यक कदम चाँडै चाल्नेछ।’

बैठकले श्रमिकमैत्री वातावरण निर्माण, सीपमूलक तालिमलाई बजारसँग जोड्ने, तालिमपछि रोजगारी सुनिश्चित गर्ने, अनुगमन प्रणाली मजबुत गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ । साथै सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनेमा जोड दिइएको छ ।