गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

डिसी नेपाल
२० चैत २०८२ १९:४१
20
Shares

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि सारेको छ।

सरकारको यही चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची तयार गरी सार्वजनिक गरेको थियो। सोही कार्यसूचीको (ञ) मा स्वास्थ्य, शिक्षा र मानव विकासअन्तर्गत बुँदा नं ८५ मा स्वास्थ्य क्षेत्रको सुधारका लागि गरिने कामको सूची तयार गरिएको छ।

सोसम्बन्धमा प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको उच्चस्तरीय बैठकले प्रतिष्ठानले प्रवाह गर्ने स्वास्थ्य क्षेत्रमा बृहत् परिवर्तन ल्याउन विभिन्न १३ बुँदे निर्णय गरेको छ। बैठकले प्रतिष्ठानमा विगतदेखि सञ्चालनमा रहेको १० प्रतिशत निःशुल्क शय्या सेवालाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन, सेवा लिइरहेका बिरामीको अद्यावधिक विवरण ‘रियल टाइम लाइभ ड्यासबोर्ड’ मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिने निर्णय गरेको छ।

त्यसैगरी प्रतिष्ठानका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीको दैनिक हाजिरी गर्नका लागि बायोमेट्रिक हाजिरी प्रणाली विगतदेखि सञ्चालनमा रहेको जनाउँदै प्रतिष्ठानका उपकुलपति प्राडा श्रेष्ठले दैनिक ८ः३० बजेभन्दा ढिला आउने तथा ४ः४५ भन्दा छिटो जानेका लागि गयल हुने व्यवस्था यसअघि रहेको उल्लेख गरे।

उहाँका अनुसार कुनै कारण ढिलो भएमा वा छिटो जानु परेमा सोको पर्याप्त कारण खुलाइ निवेदन दिनुपर्ने व्यवस्था यसअघि पनि रहेकामा आगामी दिनमा थप कडाइ र प्रविधिमैत्री बनाउने गर्ने निर्णय भएको छ।

उक्त व्यवस्थालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीको उपस्थिति सुपरीवेक्षण एवं सुनिश्चित गर्न यही चैत १८ गते प्राडा स्मृति कार्कीको संयोजकत्वमा मूल्याङ्कन कमिटी गठन गर्ने निर्णय पनि भइसकेको प्रतिष्ठानले जनाएको छ।

विगतदेखि जलन उपचार सेवा प्रदान हुँदै आइरहेकाले आगामी दिनमा जलनका बिरामीको उपचारलाई अझ पहुँचयोग्य र सहुलियतपूर्ण बनाउन, जलनका बिरामीलाई प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा तथा शय्या निःशुल्क गर्ने व्यवस्था लागू गर्ने तथा जलन उपचार सेवाको प्रभावकारी सुदृढीकरणका लागि बर्न विशेषज्ञ जनशक्ति उपलब्ध हुने सम्बन्धमा मन्त्रालयसँग माग गर्ने निर्णय आजको बैठकले गरेको प्रतिष्ठानका उपकुलपति प्राडा श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *