एमाले सचिवालय बैठकमा निर्वाचनको समीक्षा, बालेन सरकारलाई औपचारिक बधाई

डिसी नेपाल
२० चैत २०८२ २०:४९
148
Shares

काठमाडौं। नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार भएको सातौं केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिनुको साथै उनको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको समेत गरेको उनले बताए। पार्टी कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको बैठकले संसदीय दलको नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको जनाएको छ।

यस्तै बैठकमा संसदीय दलका नेताले थापाले गरेको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफलसमेत गरेको उपमहासचिव भट्टले जानकारी दिए।

उनले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको उल्लेख गर्दै यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने स्पष्ट पारे। यस्तै बैठकले सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन माग गरेको उपमहासचिव भट्टले बताए।

सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णय स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले उक्त निर्णय पनि फिर्ता लिन सरकारसँग माग गरेको छ।

बैठकले पश्चिम एशियामा जारी हिंसाका कारण लाखौँ नेपालीहरू असुरक्षित बनेका भन्दै उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *