निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
मुस्ताङ। मुक्तिनाथधामस्थित दर्शनार्थी विश्रामस्थल प्राङ्गणमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित भएका छन्। नेपाली सेनाको जोमसोमस्थित इन्द्रबक्स गणको आयोजनामा बिहीबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
समुद्री सतहको तीन हजार ८०० मिटर उचाइमा अवस्थित मुक्तिनाथ क्षेत्रमा पुगेका कतिपय दर्शनार्थीलाई हाइअल्टिच्युडको समस्या देखिने गर्छ। मुक्तिनाथ दर्शनार्थीलाई लक्षित गरी नेपाली सेनाको इन्द्रबक्स गणले मुक्तिनाथमा एकदिने शिविर सञ्चालन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए।
सेनाको निःशुल्क शिविरमा स्वास्थ्यमा समस्या भएका दीर्घरोगका बिरामी, ज्येष्ठ नागरिकलगायतको स्वास्थ्य परीक्षण भएको व्यवस्थापक भुसालले जानकारी दिए। उच्च उचाइको स्थानमा आउने पर्यटक तथा दर्शनार्थीलाई अक्सिजनको लेवल कम हुने भएकाले ‘हाइअल्टिच्युड’को समस्या देखिने गरेको व्यवस्थापक भुसालको भनाइ छ।
नेपाली सेनाका निःशुल्क स्वास्थ्य शिविरमा स्वदेशी भक्तजन १२२ जना, भारतीय दर्शनार्थी ४० जनाले स्वास्थ्य लाभ लिएको इन्द्रबक्स गणले जनाएको छ। त्यसैगरी, शिविरमा पोल्यान्डका पाँच पर्यटक र साउथ कोरियन पर्यटक एक गरी छ जना विदेशीले पनि शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जना दर्शनार्थीलाई प्रोटेबल अक्सिन प्रयोग गरी हाइअल्टिच्युड सिग्नेसको परीक्षण गरी उपचार गरिएको इन्द्रबक्स गणले बताएको छ।
मुक्तिनाथमा सञ्चालन गरिएको स्वास्थ्य शिविरका लागि इन्द्रबक्स गणबाट एक जना चिकित्सकसहित पाँच स्वास्थ्यकर्मी खटिएका थिए। शिविरमा परीक्षण गर्न आएकाहरूको हाइअल्टिच्युड सिग्नेस, श्वासप्रश्वासको समस्या, उच्च रक्तचापलगायत सामान्य प्रकारको स्वास्थ्य परीक्षण गरिएको थियो।







डिसी नेपाल







Facebook Comment