ओलीलाई पक्राउ गरिएकोमा वामदेवले चित्त दुखाए, अपमानित हुने गरी हिरासतमा नराख्न सुझाव
काठमाडौं। पूर्वउपप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य वामदेव गौतमले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेख्दै नेता गौतमले ओलीलाई अपमानित हुने गरी हिरासतमा नराख्न सुझाव दिएका हुन् । सरकारले ओलीमाथि गरेको व्यवहार राजनीतिक र मानवीय दृष्टिकोणले गलत भएको नेता गौतमको टिप्पणी रहेको छ । ओलीमाथि लगाइएका आरोपहरु अदालतबाट प्रमाणित भएको खण्डमा मात्रै उनलाई थुनेर कारबाही गर्न नेता गौतमले सुझाव दिएका छन् ।
‘७४ वर्षको वृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे–जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यासअनुसार कुनै पनि घटनाका छानबिन प्रतिवेदन सरकारसमक्ष पेस भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने हो,’ उनले भने ।
प्रधानमन्त्री शाह नेपालको ४३ औँ प्रधानमन्त्री बन्न र आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा ओलीको योगदान रहेको पनि नेता गौतमले स्मरण गराएका छन् । ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने नेता गौतमको भनाइ छ ।
रातारात घर घेरेर, एकाविहानै ओलीलाई पक्राउ गर्ने शैली नै गलत रहेको उनको जिकीर छ । उनले प्रधानमन्त्री शाहलाई ओलीको गिरफ्तारीमा भएको गल्ती सच्याउन सुझाव दिएका छन् । वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित नहुने नेता गौतमको भनाइ छ ।







डिसी नेपाल







Facebook Comment