नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली
काठमाडौं। नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेका छन्।
आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्धता जनाए।
कँडेलले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालयको प्रभुत्वसँग काम गर्ने अवसरको लागि सौभाग्य सम्झेको छु। हामी यो प्रभुत्व वर्गसँग मिलेर काम गर्दाखेरी नेपालको फौजदारी न्यायप्रणालीको विकासमा योगदान गर्न सकिन्छ भन्ने मलाई विश्वास लागेको छ।’
उनले संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र रही नेपाल सरकारलाई उपयुक्त कानुनी राय–सल्लाह प्रदान गर्ने र अभियोजन कार्यलाई वस्तुनिष्ठ तथा प्रभावकारी बनाउने बताए।
साथै, नेपाल सरकारविरुद्धका मुद्दाहरूमा पनि प्रभावकारी प्रतिरक्षा गरिने उनको भनाइ छ।
‘नेपाल सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सिमाभित्र रहेर उपयुक्त राय सल्लाह दिने काम गर्छौ र मेरो कार्यकालमा पनि त्यही हुने छ। हामीले फौजकारी कसुरमा अभियोग गर्नेक्रममा हामीले बस्तुनिष्ट भएर प्रभावकारीरुपमा अभियोजन गर्छौ। नेपाल सरकारका विरुद्ध लगाएका मुद्धाहरु पनि प्रभावकारीरुपमा प्रतिरक्षा गर्छौ,’ उनले भने।
प्रधानमन्त्री बालेन्द्र शाह आज नै अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेल नेपाल सरकारका प्रमुख कानुनी सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।







डिसी नेपाल







Facebook Comment