शुक्लाफाँटामा बाघ गणना सम्पन्न

डिसी नेपाल
२२ चैत २०८२ २०:४६
28
Shares

दोधारा चाँदनी। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ।

राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।

गत फागुन अन्तिम सातादेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामेरा सङ्कलन भइरहेको हो। ‘शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामेराहरु सङ्कलन भइसकेका छन्,’ उनले भने, ‘सङ्कलन भएका क्यामेराका तस्बिरहरुको विश्लेषण गरेर बाघको सङ्ख्या पत्ता लगाइन्छ।’

यहाँ प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ। बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोलीसहित ५२० स्वचालित क्यामेरा जडान गरिएका थिए। सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ थिए।

निकुञ्ज कार्यालयले हरेक वर्ष बाघको आन्तरिक सर्वेक्षण गर्ने गर्दछ। निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार यहाँ ४३ वटा बाघ छन्। यस पटकको राष्ट्रिय गणनामा पनि सोही सङ्ख्यामा बाघको सङ्ख्या हुन सक्ने अनुमान संरक्षण अधिकृतहरुको छ। ‘निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै सङ्ख्या नबढेका हुनसक्छन्,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘यसपटकको राष्ट्रिय गणनामा पनि त्यही सङ्ख्या हुनसक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *