आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

डिसी नेपाल
२२ चैत २०८२ २१:०५
36
Shares

खोटाङ। नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत १९ देखि शनिबारसम्म शिविर सञ्चालन गरिएको थियो। त्यस क्रममा एक सय ४९ जनाको आँखाको शल्यक्रिया, चार सय ८५ ज्येष्ठ नागरिकलाई चस्मा वितरण, सात सय ७० जनालाई औषधि वितरण र शल्यक्रिया गरिएका एक सय १५ जनालाई कालो चस्मा वितरण गरिएको थियो।

शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोलीले सेवा दिएको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभएको छ। कोशी प्रदेश सरकारले दिक्तेल रुपाकोट नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा शल्यक्रियासहितको निःशुल्क आँखा उपचार शिविर आयोजना गरिएको उनले बताए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी निःशुल्क शल्यक्रियासहितको शिविर सञ्चालन गरिएको बताए। शिविरमा शल्यक्रिया हुन नसकेका आँखाका बिरामीलाई लहानमा लगेर निःशुल्क सेवा उपलब्ध गराइने उनले जानकारी दिए।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको शिविरको एक कार्यक्रमका बीच आज कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले समापन गरे।

विसं २०६० वैशाख १० मा स्थापना गरिएको नेपाल नेत्रज्योति सङ्घले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार तथा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *