किम्बु बिरुवाको माग बढ्दो

डिसी नेपाल
२४ चैत २०८२ ९:०८
100
Shares

चितवन। रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशमखेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ ।

हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ । अहिले किम्बुका बुटा व्यावसायिक होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई घाँसका रूपमा समेत उपयोग गर्न थालेपछि यसको माग बढ्दो छ ।

चितवनको भण्डारास्थित व्यावसायिक किट विकास फार्ममा उत्पादित किम्बुका बिरुवा देशका विभिन्न जिल्लामा यिनै प्रयोजनका लागि पठाइने गरिएको छ । कार्यालय प्रमुख सुरुची त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले एक लाख ८० हजारभन्दा बढी किम्बुका बिरुवा उत्पादन गरेको छ ।

ती बिरुवा किसानलाई प्रतिविरुवा रु पाँचका दरले बिक्री गरिँदै आएको उहाँले जानकारी दिनुभयो । यस वर्ष मधेस तथा पहाडी जिल्लाबाट समेत किम्बु बिरुवाको माग आएको उनले बताए । पछिल्लो समय रेशम किरापालनका लागि समेत बिरुवाको माग पुनः बढ्न थालेको छ । ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लाबाट किम्बु बिरुवाको माग आएको उनले जानकारी दिए।

त्यसैगरी, पर्यटन क्षेत्रबाट पनि किम्बु बिरुवाको माग बढ्दो रहेको छ । होटल तथा रिसोर्टहरूले छिटो हुर्कने, राम्रो छहारी दिने र फल लाग्दा चराचुरुङ्गी आकर्षित हुने भएकाले वातावरणीय सौन्दर्यका लागि किम्बु रोप्ने चलन बढेको उहाँले बताउनुभयो । उनले भने, “होटल तथा रिसोर्टहरूबाट यसको माग बढेको छ, किनभने यो बिरुवा छिटो हुर्कन्छ । फल लाग्ने समयमा चराचुरुङ्गी आकर्षित हुने भएकाले रेष्टुराँ परिसरमा रोप्दा राम्रो छहारीका साथै आउने पाहुनाहरूले चराहरू अवलोकन गर्न सक्ने वातावरण सिर्जना हुन्छ । यसै कारण किम्बु रोप्ने प्रचलन बढ्दै गएको छ ।”

किम्बुको फलको पनि बजारमा उत्तिकै माग रहेको छ । यसको फलमा औषधीय गुण पाइने र वाइन, जाम तथा जुस बनाउन प्रयोग गर्न सकिने भएकाले केही उद्योगहरूले समेत फलको माग गर्ने गरेका छन् । उनका अनुसार किम्बु फलले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्ने भएकाले स्वास्थ्यका हिसाबले समेत उपयोगी मानिन्छ । “स्वास्थ्यका हिसाबले किम्बु अत्यन्त राम्रो फल हो”, उनले भने । उनले नेपालमा पाइने बेरी प्रजातिमध्ये किम्बु पनि एक रहेको बताए। उनले किसानहरूले यसलाई पशुका लागि घाँसको रूपमा समेत प्रयोग गर्ने गरेको बताए। विशेषगरी अन्य घाँस अभाव हुने समयमा यसको महत्व अझ बढ्ने गरेको छ । हाल फार्मबाट कान्वा–२ जातको किम्बु बिरुवा उत्पादन गरी वितरण गरिँदै आएको छ । यो बिरुवा गमलादेखि खेतसम्म सजिलै रोप्न सकिने प्रमुख त्रिपाठीले बताए ।

हिउँदको समयमा बिरुवा कटिङ सुरु गरी रोपाइँ गरिन्छ र जेठ महिनादेखि वितरण गरिने गरिएको छ । वर्षायाममा सार्न उपयुक्त हुने भए पनि पानीको स्रोत उपलब्ध भए अन्य समयमा पनि किम्बु रोप्न सकिने उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *