सुर्खेतको आकाशमा नयाँ उत्साह- ‘कर्णाली समृद्धि’सँगै पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ

डिसी नेपाल
२४ चैत २०८२ १७:१७
16
Shares

सुर्खेत। सुर्खेतको आकाश यतिबेला केवल बादल र चराहरूको आवतजावतमा सीमित छैन, यहाँ अब मानिसका सपना, साहस र उत्साह पनि पखेटा फिजाउँदै उड्न थालेका छन्।

कर्णाली प्रदेशको राजधानीका रूपमा परिचित यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार हुँदै जाँदा, यसको आकाशले नयाँ कथा भन्न थालेको छ। प्याराग्लाइडिङको कथा, जुन रोमाञ्च, आत्मविश्वास र सम्भावनाको संगम हो।

चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू–दृश्यले जोकोहीलाई पनि केही क्षणका लागि आफ्नै चिन्ताबाट टाढा लैजान्छ। खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति केवल मनोरञ्जन मात्र होइन, जीवनप्रतिको दृष्टिकोणमै परिवर्तन ल्याउने खालको अनुभव बन्न थालेको छ यहाँ आएर प्याराग्लाईडिंग गर्ने पर्यटकहरुका लागी। यही अनुभूतिले पछिल्लो दुई–तीन वर्षमा सुर्खेतलाई प्याराग्लाइडिङका लागि आन्तरिक पर्यटकहरूको रोजाइमा राखेको छ।

शिक्षण पेशामा आवद्ध रमेश बिष्ट यस परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागि पनि छन्। उनले भने, ‘छोटो समयमै यहाँको प्याराग्लाइडिङले सबै वर्गका मानिसलाई आकर्षित गरेको छ।’

पहिलो पटकको उडानले दिएको उत्साह र आनन्दले आन्तरिक पर्यटक रमेशलाई फेरि दोस्रो पटक आकाशमा उड्न प्रेरित ग¥यो। ‘पहिलो पटक उड्दा डर लागेर सक्दिन कि भन्ने लाग्थ्यो, तर वास्तवमा त्योभन्दा धेरै रमाइलो र ढुक्कको अनुभूति भयो’ उनले भने। उनका अनुसार प्याराग्लाइडिङले मानिसलाई केही समयका लागि भए पनि जीवनका तनावबाट मुक्त गरिदिन्छ।

सुर्खेतमा यो गतिविधि विस्तार हुँदै जाँदा यसको दायरा पनि फराकिलो हुँदै गएको छ। व्यवसायी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर सहीत विभिन्न पेशा र उमेर समूहका मानिसहरू अहिले यसमा सहभागी भइरहेका छन्। यसले देखाउँछ कि प्याराग्लाइडिङ अब सीमित साहसीहरूको खेल मात्र नभई सर्वसाधारणको पहुँचमा पुग्दै गई रहेको छ। व्यवस्थापनमा आएको सुधार, सुरक्षा मापदण्डको पालन र प्रशिक्षित पाइलटहरूको उपलब्धताले यो व्यावसायप्रति विश्वास बढाएको छ।

यही आकर्षणले विदेशबाट फर्किएका युवाहरूलाई पनि तानेको छ। पाँच वर्ष जापान बसाइ सकेर फर्किएका ‘सेन्से’ नामले चिनिने स्थानीय युवा जीवन पहिलो पटक प्याराग्लाइडिङ अनुभव लिन सुर्खेत आइपुगेको बताए।

उनका लागि यो केवल मनोरञ्जन होइन, स्वदेशको प्रकृति र पर्यटनको सम्भावनासँग पुन : जोडिने अवसर पनि हो। ‘जापानबाट फर्किएपछि नेपालमै केही नयाँ अनुभव गरौँ भन्ने सोच थियो,’ उनले भने। उडानअघि हल्का डर भए पनि उनको अनुहारमा उत्साह स्पष्ट देखिन्थ्यो।

‘मलाई डर त लागिरहेको छ, तर एडभेन्चरस फिल भइरहेको छ,’ उनले मुस्कुराउँदै भने। जीवनले सबैलाई एकपटक सुर्खेत आएर प्याराग्लाइडिङ अनुभव गर्न आग्रह समेत गरे। ‘यहाँको अनुभव साँच्चिकै फरक छ, सबैले एकपटक प्याराग्लाइडिङको अनुभव लिनुहोला,’ उनले भने।

जीवन र रमेश जस्तै प्याराग्लाइडिङ अनुभव बटुल्न बयलकाँडाको डाँडामा पुगेर पहिलोपटक उडान गर्न लागेकी निरु चौधरीको अनुभव पनि खासै फरक छैन। ‘मैले प्याराग्लाइडिङ गरेको धेरै भिडियोहरु देखेकी थिएँ। पोखरा गएर गर्नलाई आर्थिक रुपले र समयको व्यस्तताले पनि सम्भव भई रहेको थिएन। तर यहाँ दुरीले पनि नजिक र समयको पनि सदुपयोग हुने भएको हुँदा म निकै नै उत्साहीत भएकी छु,’ उनले भने ‘यो मेरो पहिलो पटकको अनुभव हुनेछ। म निकै डराएकी छु। तर पनि डरको पछाडि जित हुन्छ। त्यसैले म उड्नेछु।’

पछिल्लो केही वर्षदेखि सुर्खेतको आकाशमा गरिंदै आएको प्याराग्लाइडिङ युवा पुस्तामाझ झन् लोकप्रिय बन्दै गई रहेको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वाड नं. १४ स्थित बयलकाँडा क्षेत्रमा निमार्ण गरिएको प्याराग्लाइडिङको स्थान बिस्तारै व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढिरहेको वेलकम प्याराग्लाइडिङका सञ्चालकको भनाई छ।

‘कर्णाली समृद्धि २०८२’ को सन्दर्भसँगै यहाँ सस्तो र सुलभ दरमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिएको छ। जसले आन्तरिक पर्यटनलाई थप चलायमान बनाएको छ।

यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहेका छन्। जसले करिब १६ वर्षदेखि यस क्षेत्रमा निरन्तर काम गर्दै आउनु भएको छ।

उनको नेतृत्वमा सञ्चालन भइरहेको ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीमार्फत चार जना दक्ष पाइलटहरूले दैनिक रूपमा व्यावसायिक उडान गरिरहेका छन्। सस्तो दरमा उपलब्ध गराइएको सेवा र व्यवस्थित सञ्चालनले यहाँ आउने पर्यटकहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ।
समुद्री सतहबाट करिब १,५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा नै प्याराग्लाइडिङका लागि उपयुक्त स्थल मानिन्छ। यहाँको हावाको सन्तुलित बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरेको जिमीको भनाई छ। ‘यहाँको वायु प्रवाह अत्यन्त अनुकूल छ, जसले उडानलाई स्थिर र सुरक्षित बनाउँछ,’ उनले भने।

उडानका क्रममा देखिने भित्री मधेसका फराकिला फाँट, चुरेका हरिया डाँडाकाँडा र टाढाबाट देखिने हिमालहरूको दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गर्छ। आकाशबाट पृथ्वीलाई हेर्ने यो दृष्टिकोणले मानिसमा नयाँ अनुभूति र जीवनप्रतिको फरक बुझाइ जन्माउने विश्वास गरिएको छ।

पाइलट जीमीका अनुसार बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरणको व्यवस्था गरिएको छ। यसले पहिलोपटक उडान गर्नेहरूलाई समेत सहज महसुस गराएको छ।

‘सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ जिमीले भने, ‘टेकअफदेखि ल्यान्डिङसम्म सबै प्रक्रिया व्यवस्थित रूपमा गरिएको छ।’

पाईलट जीमीका अनुसार प्याराग्लाइडिङको सम्पूर्ण अनुभव तीन चरणमा विभाजित हुन्छ। टेकअफ, फ्लाइङ र ल्यान्डिङ। केही मिनेटको यो उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिन्छ। उचाइबाट संसार नियाल्दा मानिसमा आत्मिक सन्तुष्टि, स्वतन्त्रताको अनुभूति र नयाँ ऊर्जा पैदा हुने अनुभूति सहभागीहरूले व्यक्त गर्ने गरेका छन्।

यससँगै, स्थानीय अर्थतन्त्रमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ। प्याराग्लाइडिङ गतिविधिसँगै होटल, रेस्टुरेन्ट, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ।

स्थानीय युवाहरूले रोजगारीको नयाँ अवसर पाएका छन् भने साना व्यवसायहरू पनि चलायमान हुन थालेका छन्। यसले कर्णाली प्रदेशको समग्र आर्थिक गतिविधिमा सघाउ पुर्‍याउने संकेत देखिएको छ।

यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुंगानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ।

सुर्खेतको पर्यटकीय क्षेत्रमा स्वयं प्याराग्लाइडिङको अनुभव लिँदै प्रमुख ढुंगानाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले यस क्षेत्रलाई चिनाउन थप मद्दत गरेको र आर्थिक रूपमा पनि यसले सहयोग पुर्‍याएको बताए।

उनका अनुसार प्याराग्लाइडिङ केवल मनोरञ्जनमा सीमित नरही राजस्व संकलनको महत्वपूर्ण आधार बनेको छ। सुर्खेतमा सञ्चालनमा रहेका कम्पनीहरू विधिवत दर्ता भई नियमित रूपमा कर तिर्दै आएको उल्लेख गर्दै उनले यसबाट सरकारी राजस्वमा समेत उल्लेखनीय योगदान पुगेको जानकारी दिए।

‘प्याराग्लाइडिङसँग सम्बन्धित अन्य क्षेत्रहरू पनि सँगसँगै विस्तार भइरहेको देखिन्छ,’ उनले भने, ‘पर्यटकलाई उडानस्थलसम्म पु¥याउने यातायात सेवा, पाइलट तथा सहायक कर्मचारीका लागि रोजगारी सिर्जना, होटल तथा रेष्टुरेन्ट व्यवसायमा वृद्धि जस्ता गतिविधिहरूले स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाइरहेका छन्।’

राजस्व प्रमुख ढुंगानाले भविष्यमा कर्णाली प्रदेशलाई पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्याराग्लाइडिङ एक महत्वपूर्ण आधार बन्न सक्ने बताए। यो सुर्खेतको भौगोलिक बनावट, उपत्यकाको आकर्षक दृश्य र अनुकूल वातावरणका कारण यो क्षेत्र साहसिक पर्यटनका लागि उपयुक्त रहेको उनको भनाइ छ।

उनले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा छिमेकी मुलुक भारतबाट समेत पर्यटकको आगमन बढ्दै गएको उल्लेख गरे। ढुंगानाले सुर्खेतमा आफूले पाँचौँ पटक प्याराग्लाइडिङ गरेको जानकारी दिँदै यसअघिका अनुभवहरूसँग तुलना गर्दा यहाँको उडान अझ रोमाञ्चक र उत्कृष्ट लागेको बताए।

‘मैले यो भन्दा पहिला पोखरामा पटक पटक प्याराग्लाइडिङ गरिसकेको छु। तर सुर्खेतको अनुभव अझ प्रभावशाली र निकै नै मनमोहक लाग्यो,’ उनले भने।

सुर्खेतको आकाशमा फैलिएका रंगिन पखेटाहरू केवल साहसिक खेलको विस्तार मात्र होइनन्, कर्णालीको पर्यटन सम्भावनाको संकेत पनि हुन्। सस्तो दर, बढ्दो आकर्षण र व्यवस्थित सञ्चालनले सुर्खेतलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ।

अब सुर्खेतको आकाश केवल निलो मात्र छैन, यो पर्यटन प्रवद्र्धनका लागी सम्भावनाको रंगले पनि रंगिएको छ। जहाँ प्रत्येक उडानले एउटा नयाँ कथा लेखिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *