बाख्राको खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल
रौतहट । एउटा १८ वर्षको लक्का जवान छोरा, जसको काँधमा परिवारको सहारा बन्ने सपना हुनुपर्ने थियो । तर, रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारका बिशाल तितुङका लागि भने संसार बाख्राको एउटा सानो खोर र खुट्टामा बेरिएको फलामको साङ्लोमा सीमित छ । बितेका १५ वर्षदेखि उनी त्यही अँध्यारो खोरमा पशुवत जीवन बिताउन बाध्य छन् ।
०६६ सालमा सामान्य अवस्थामा जन्मिएका बिशालको हाँसो २०६८ सालपछि ओइलायो । अचानक बिरामी परेका उनलाई परिवारले काठमाडौँका ठूला अस्पताल पु¥याए । तर, चिकित्सकको एउटै जवाफले बाबु बाबुलाल र आमा अस्मिताको खुट्टा मुनिको जमिन भासियो—‘छोराको मस्तिष्कको एक भागले काम गर्दैन, यो निको हुन्न ।’
त्यसपछि सुरु भयो बिशालको कहालीलाग्दो यात्रा । बोल्न नसक्ने र जे भेट्यो त्यही च्यात्ने, फाल्ने वा खाने समस्याका कारण उनलाई नियन्त्रणमा राख्न परिवारले कठोर निर्णय लियो—खुट्टामा साङ्लो बाँधेर बाख्राको खोरमा राख्ने ।
‘मुटुमा ढुङ्गा राखेर छोरालाई जनावर झैँ बाँधेका छौँ,‘बुवा बाबुलाल गला अवरुद्ध पार्दै भन्छन्, ‘नबाँधे कता पुग्छ थाहा हुन्न, फर्केर आउँदैन । भेटेका सामान नष्ट गर्छ । हामी गरिबका लागि यो साङ्लो सुरक्षा पनि हो र बाध्यता पनि ।’
बिशालको खानपान र दिसा–पिसाब सबै त्यही खोरभित्रै हुन्छ । उनको नाममा आउने मासिक दुई हजार रुपैयाँ अपाङ्ग भत्ताले न पेट भरिन्छ, न उनको अवस्था फेरिन्छ ।
छोरालाई कुनै पुनस्र्थापना केन्द्रमा पठाएर मानवीय जीवन दिलाउने बाबुलालको धोकोमा सरकारी नीति नै बाधक बनेको छ । वडा कार्यालयले बुवा–आमा जीवित रहेसम्म सिफारिस दिन मिल्दैन भन्दै पन्छाइदिएको उनको गुनासो छ । छोराको जीवन खोरमै सकिने डरले आमाबाबु दिनरात पिरोलिएका छन् ।
गैडाटारको यो एउटा खोरले हाम्रो समाज र राज्यको वास्तविक तस्विर छर्लङ्ग पारेको छ । के एउटा अपाङ्गता भएको नागरिकले अभिभावक जीवित भएकै कारण पशुवत जीवन बिताउनुपर्ने हो ? के ‘ख’ वर्गको परिचयपत्र र थोरै भत्ताले राज्यको दायित्व पुरा हुन्छ ?
बिशालको खुट्टाको साङ्लो फुकाल्न अब कुनै सरकारी कानुनी दाउपेच होइन, एउटा मानवीय मन र राज्यको अभिभावकीय भूमिकाको खाँचो छ । १५ वर्ष खोरमा बिते, के बाँकी जीवन पनि त्यसरी नै सकिने हो ? यो प्रश्नले आज गैडाटार मात्र होइन, सिङ्गो मानवतालाई गिज्याइरहेको छ ।







डिसी नेपाल







Facebook Comment