भारतमा टेस्लाको टिठलाग्दो व्यापार, ८ महिनामा ३५० भन्दा कम कार बिक्री
काठमाडौं । विश्वभर विद्युतीय सवारीको क्षेत्रमा क्रान्ति ल्याएको अमेरिकी कम्पनी टेस्लालाई भारतीय बजारमा आफ्नो पकड जमाउन निकै संघर्ष गर्नुपरेको छ। प्रविधि र ब्रान्ड भ्यालुमा अगाडि भए पनि भारतमा टेस्लाका कारहरू खरिदकर्ताको पर्खाइमा देखिन्छन्। पछिल्लो तथ्याङ्क अनुसार टेस्लाले भारतमा ८ महिनाको अवधिमा ३५० युनिट कार पनि बिक्री गर्न सकेको छैन।
गत वर्षको जुलाईमा टेस्लाले मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा आफ्नो पहिलो शोरुमको उद्घाटन निकै तामझामका साथ गरेको थियो। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उद्घाटन गरेको उक्त शोरुममार्फत कम्पनीले ‘मोडल वाई’ सार्वजनिक गरेको थियो, जसको सुरुवाती मूल्य ५९.८९ लाख भारु तोकिएको थियो। सन् २०२५ को सेप्टेम्बरदेखि बिक्री सुरु भए तापनि ७ महिनाको अवधिमा नतिजा निराशाजनक देखिएको छ।
फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) का अनुसार, आर्थिक वर्ष २०२५-२६ मा टेस्ला इन्डियाले जम्मा ३४२ कार मात्र बिक्री गरेको छ। यसको अर्थ औसतमा प्रति महिना ४३ वटा कार मात्र बिक्री भएका छन्।
टेस्लाको अवस्था कमजोर देखिए पनि समग्र भारतको इभी बजार भने निकै फस्टाएको छ। आर्थिक वर्ष २०२६ मा दुई पाङ्ग्रे देखि व्यावसायिक सवारीसम्म गरी कुल २४.५२ लाख इभी युनिट बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २४.६% को वृद्धि हो।
विशेष गरी प्यासेन्जर इभी (विद्युतीय कार) खण्डमा ८३.६३% को उछाल आउँदै बिक्री संख्या करिब २ लाख पुग्न लागेको छ। जहाँ बजारमा २ लाख कारको माग छ त्यहाँ टेस्लाले ३४२ युनिट मात्र बेच्न सक्नु कम्पनीका लागि गम्भीर चिन्ताको विषय बनेको छ।
भारतमा ‘मोडल वाई’ को मूल्य ६० देखि ७० लाख भारुको हाराहारीमा पर्छ। अमेरिकाको तुलनामा यो ७०% महँगो हुनुको मुख्य कारण ७०% देखि १००% सम्म लाग्ने भारी आयात शुल्क हो। भारत जस्तो मूल्यमा सचेत बजारमा यो कार केवल १% हिस्सा ओगटेको ‘लक्जरी वर्ग’ मा मात्र सीमित हुन पुगेको छ।
टेस्लाले अहिले भारतमा कार उत्पादन गर्दैन। यहाँ बिक्री हुने कारहरू चीनको संघाईस्थित गिगा फ्याक्ट्रीबाट ‘कम्प्लिटली बिल्ट युनिट’ का रूपमा आयात गरिन्छ। स्थानीय उत्पादन नभएसम्म यसको मूल्य घट्ने सम्भावना कम छ।
भारतीय बजारमा बिवाइडी, विनफास्ट, मर्सिडीज बेन्ज, बिएमडब्लु, हुण्डाई, टाटा मोटर्स र महिन्द्रा जस्ता कम्पनीहरूसँग बलियो इभी पोर्टफोलियो छ। यी कम्पनीका कारहरू टेस्लाको तुलनामा सस्तो र धेरै फिचरयुक्त छन्।
टेस्लाको चर्चित ‘फुल्ली सेल्फ ड्राइभिङ’ फिचरलाई भारत सरकारले अनुमति दिएको छैन, जबकि कम्पनीले यसका लागि ६ लाख भारुसम्म थप शुल्क लिने गर्दछ। साथै, ‘मोडल वाई’ को १६७ मिमीको ‘ग्राउण्ड क्लियरेन्स’ भारतीय सडकका खाल्डाखुल्डीका लागि निकै कम मानिएको छ।
चुनौतीका बाबजुद टेस्लाले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ। दिल्ली, मुम्बई, गुरुग्राम र बेंगलुरुमा उपस्थित रहेको कम्पनीले हालै नवी मुम्बईमा ‘सुपरचार्जर स्टेसन’ पनि स्थापना गरेको छ। कम्पनीको दाबी अनुसार, यी सुपरचार्जरबाट १५ मिनेट मात्र चार्ज गर्दा कारले २७५ किलोमिटरको रेन्ज दिनेछ।
विज्ञहरूका अनुसार यदि टेस्लाले भारतमै उत्पादन सुरु गरेर मूल्य समायोजन नगरेसम्म, यसले भारतीय ‘मास मार्केट’ मा स्थान बनाउन कठिन देखिन्छ।







डिसी नेपाल







Facebook Comment