इटहरी गोल्डकप : विजेतालाई १० लाखसहित सुन–चाँदीको ट्रफी
विराटनगर। आगामी चैत्र ३० गतेदेखि सुनसरीको इटहरीमा आयोजना हुन लागेको १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण ‘रेडबुल इटहरी गोल्डकप’ फुटबल प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ नगदसँगै ६० तोला चाँदी र ६ आना सुन जडित विशेष ट्रफी प्राप्त गर्ने भएका छन्।
राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगताका बारेमा बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी र पुरस्कार संरचनाबारे समेत जानकारी गराइएको हो।
प्रतियोगिता आगामी चैत ३० गतेदेखि सुरु भई २०८३ साल वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
खेल संयोजक अनुरोध थापाका अनुसार उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ दिइनेछ।
यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
आयोजकका अनुसार अघिल्लो संस्करणमा ४९ लाख ३० हजार रुपैयाँ संकलन भएकोमा २ लाख १० हजार रुपैयाँ बचत गर्न सफल भएको थियो। यस वर्ष भने करिब ८८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टोली सहभागी हुनेछन्। सहभागी टोलीमा मच्छिन्द्र फुटबल क्लब, प्लानिङ ब्वाइज क्लब, झापा–११, सातदोबाटो फुटबल क्लब, यूवा समाज मोरङ, आयोजक राष्ट्रिय जागृति क्लब, यूकेएफसी भारत र जस्ट जोन फुटबल क्लब नाइजेरिया रहेका छन्।
इटहरी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन चैत ३० गते हुनेछ भने फाइनल खेल वैशाख ७ गते हुनेछ। रात्रिकालीन खेललाई लक्षित गर्दै रंगशालामा अस्थायी प्यारापिट निर्माणसहित तयारी तीव्र पारिएको थापाले जानकारी दिए।
आयोजकले फुटबल प्रतियोगिताले खेलकुद मात्र नभई कोशी प्रदेशकै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ भने संरक्षकका रूपमा कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद रहेका छन्।
वि.सं. २०२३ सालमा स्थापना भएको राष्ट्रिय जागृति क्लबले विगतमा स्व. दानबहादुर फुयाल गोल्डकप, इटहरी गोल्डकप तथा मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपजस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ। पछिल्ला वर्षहरूमा क्लबले अन्तर्राष्ट्रिय स्तरको इटहरी गोल्डकपलाई निरन्तरता दिँदै आएको जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक रेडबुल रहेको छ।







डिसी नेपाल







Facebook Comment