‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण’

डिसी नेपाल
२५ चैत २०८२ २२:३९
20
Shares

मोरङ । अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

आज यहाँ विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका लागि राजस्व परामर्श समितिको छलफल तथा अन्तरक्रियामा उनले मुलुकमा रोजगारी सृजना एवं आर्थिक क्रियाकलाप वृद्धिका लागि सरकारले निजी क्षेत्रको त्यो भूमिकालाई थप बढाउन आवश्यक सहजीकरण गर्ने बताए।

सचिव उपाध्यायले हाल मुलुकमा स्थायी सरकार बनेकाले उद्यमी एवं व्यापारीमैत्री कानुन तर्जुमासहित देश विकासमा योगदान गर्ने स्वर्णिम अवसर रहेको धारणा राखे। उनले वर्तमान सरकारले व्यक्तिको सम्पत्ति पनि राष्ट्रिय सम्पत्ति भएकाले यसको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले व्यापार सहजीकरण गरी आर्थिक समृद्धि कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले निजी क्षेत्रको मागअनुसार भन्सार क्षेत्रमा सुधार गरिएको बताए।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, नेपाल उद्योग व्यापार महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठी, उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग परिसङ्घका पवन शारडालगायतले विविध विषयमा आफ्ना धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *