विराटनगर विमानस्थलमा ‘फूल स्केल एक्सरसाइज’, दुर्घटनापछिको उद्धार प्रणालीको परीक्षण

डिसी नेपाल
२६ चैत २०८२ ७:४७
28
Shares

विराटनगर। नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा बुधबार ‘फूल स्केल एक्सरसाइज’ सञ्चालन गर्दै जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको अभ्यास गरिएको छ।

अभ्यासका क्रममा दुर्घटनाको अवस्था यथार्थजस्तै सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय र संकट व्यवस्थापन क्षमताको तीन चरणमा परीक्षण गरिएको थियो।

परिकल्पनाअनुसार काठमाडौंबाट बिहान ७ः२० बजे उडेको ‘एक्सरसाइज एयर’को इए–००६ नम्बरको विमान अवतरणका क्रममा ‘एब्नर्मल रनवे कन्ट्याक्ट’ भएपछि पहिलो प्रयास असफल भई ‘मिस्ड अप्रोच’ गरिएको देखाइएको थियो। त्यसपछि बायाँ ल्यान्डिङ गियरमा समस्या देखिँदा पुनः अवतरण गर्ने क्रममा बिहान करिब ८ः०५ बजे दुर्घटना भएको दृश्य प्रस्तुत गरिएको थियो।

बिहान ८ः१० बजे जारी पहिलो प्रेस विज्ञप्तिमा ५५ जना सवार विमान दुर्घटनाग्रस्त भएको उल्लेख गर्दै यात्रु तथा चालक दलको अवस्था खुल्न बाँकी रहेको र उद्धार कार्य जारी रहेको जानकारी गराइएको थियो। साथै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जनाइएको थियो।

त्यसपछि ८ः२५ बजे जारी दोस्रो विज्ञप्तिमा विस्तृत विवरण सार्वजनिक गर्दै ५ जनाको मृत्यु, ६ जना गम्भीर घाइते, १५ जना घाइते र २५ जना सामान्य घाइते भएको परिदृश्य प्रस्तुत गरिएको थियो। विमानमा २३ महिला, २८ पुरुष र ४ चालक दल सदस्य सवार रहेको तथा ४ जना भारतीय नागरिक पनि रहेको उल्लेख गरिएको थियो।

अन्तिम रूपमा ८ः४५ बजे जारी तेस्रो विज्ञप्तिमा उद्धार कार्य सम्पन्न भएको र बिहान ९ः१० बजेदेखि विमानस्थल पुनः सञ्चालनमा आएको जानकारी दिइएको थियो। गम्भीर घाइतेलाई विभिन्न अस्पतालमा पठाइएको र सामान्य घाइतेलाई प्राथमिक उपचारपछि आफन्तको जिम्मा लगाइएको देखाइएको थियो। मृत्यु भएका ५ जनाको शव पोस्टमार्टमका लागि पठाइएको अभ्यासमा समेटिएको थियो।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, विभिन्न अस्पताल तथा विराटनगर महानगरपालिकाको दमकल सेवा परिचालन गरिएको थियो। आगो नियन्त्रणदेखि घाइते उद्धार र अस्पताल व्यवस्थापनसम्मको सम्पूर्ण प्रक्रिया समन्वयात्मक रूपमा अभ्यास गरिएको थियो।
विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार यस्ता अभ्यासले सम्भावित दुर्घटनाको अवस्थामा छिटो, प्रभावकारी र समन्वित प्रतिक्रिया सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साथै, जोखिम न्यूनीकरण, उद्धार कार्यको प्रभावकारिता वृद्धि र उद्धारकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अभ्यास नियमित रूपमा गरिने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *