काठमाडौं ६ का वडाध्यक्षमाथि नक्कली नागरिकता दिलाएको आरोप, अख्तियारमा उजुरी

डिसी नेपाल
२६ चैत २०८२ १२:०५
680
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकता दिलाएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता गरिएको छ ।

उजुरीकर्ताले लामाले करिब ५ सय जना तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको दावी गरेका छन् । नाम नखुलाई अख्तियारमा दिइएको उजुरीमा उजुरीकर्ताले लामाले नागरिकता दिलाएको भनिएका १७ जनाको नाम र नागरिकता नम्बर समेत किटान गरी लेखेका छन् ।

विगतमा बौद्ध तामाङ कल्याण गुठीको उपाध्यक्ष समेत रहेका लामाले उक्त पदमा रहँदा तिब्बती धर्मगुरुहरुसँग मिलेर विभिन्न व्यक्तिहरुलाई भारतको धर्मशालामा दलाइ लामासँग भेटघाट गर्न पठाएको र दलाइ लामाको पक्षमा गतिविधिहरु गरेर नेपाल सरकारको ‘एक चीन नीति’ विपरित काम गरेको समेत आरोप लगाइएको छ ।

तिब्बती धर्मगुरु दलाइ लामा हाल भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । दलाइ लामा र चीन सरकारबीच विगतदेखि नै मतभेद रहँदै आएको छ । यस विषयमा नेपाल सरकारले आधिकारिक रुपमा भने बेइजिङलाई समर्थन गर्ने एक चीन नीति अपनाउँछ । वडा अध्यक्षको निर्वाचनका बेला लामाले तिब्बती समुदायबाट रकम लिएको समेत उजुरीकर्ताले दावी गरेका छन् ।

प्रचलित कानुनी व्यवस्थाअनुसार नागरिकता जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयले जारी गर्छन् र त्यसको लागि सिफारिस वडा अध्यक्षले गर्छन् । उजुरीकर्ताले वितरण गरिएका नागरिकताको पुनः जाँच गर्न, नागरिकता वितरण प्रक्रियामा अनियमितता भएको भए सोको समेत जाँच गर्न माग गरेका छन् । काठमाडौंको वडा नम्बर ६ बौद्ध क्षेत्रमा पर्छ ।

यस्तो छ उजुरीको पूरा विवरण

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *