युद्धको रापमा पलाएको प्रेम: इजरायली सैनिक र इरानी सुन्दरीको इंगेजमेन्ट
काठमाडौं । भनिन्छ, माया र युद्धमा सबै कुरा जायज हुन्छ। अहिले मध्यपूर्वमा इरान र इजरायलबीचको शत्रुता चरम उत्कर्षमा छ, जहाँ दुवै देश एकअर्कालाई सिध्याउन लागिपरेका छन्। तर, यही दुश्मनीको बीचमा एउटा यस्तो प्रेम कथा बाहिर आएको छ, जसले सबैलाई स्तब्ध बनाएको छ।
इजरायलको ‘गोलानी ब्रिगेड’का एक सैनिक डीन (परिवर्तित नाम) र इरानकी अजादेह (परिवर्तित नाम) ले हालै इंगेजमेन्ट गरेका छन्। कट्टर दुश्मन देशका नागरिक भए तापनि उनीहरूका लागि युद्धभन्दा प्रेम ठूलो सावित भएको छ।
उनीहरूको भेट सन् २०१९ मा अमेरिकाको लस एन्जलसस्थित एउटा बारमा भएको थियो। सुरुमा सामान्य चिनजान भए पनि कोभिडको समयमा उनीहरू नजिकिए। डीनले एकपटक इजरायलको तेल अवीवस्थित एउटा इरानी रेष्टुरेन्टमा खाना खाँदै गरेको तस्विर इन्स्टाग्राममा पोस्ट गरेका थिए, जसमा अजादेहले प्रतिक्रिया दिएकी थिइन्। त्यहीँबाट सुरु भएको कुराकानी बिस्तारै मायामा बदलियो।
अजादेह सन् २०१३ मा १८ वर्षको उमेरमा इरानको इस्फहान सहरबाट अमेरिका आएकी थिइन्। इरानमा रहँदा उनले कट्टरपन्थी नियम र हिजाबको बाध्यताका कारण निकै सास्ती भोगेकी थिइन्। उनले भनिन्, “म मान्छेलाई धर्मको आधारमा हेर्दिनँ। डीन यहूदी हुनु मेरो लागि कहिल्यै बाधा भएन, बरु मलाई उनको संस्कृति र इजरायलको बारेमा जान्न अझ बढी कौतुहलता भयो।”
अक्टोबर २०२३ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि डीन आफ्नो देशको रक्षाका लागि इजरायल फर्किएका थिए। युद्धको मैदानमा उनले आफ्ना कमाण्डर र धेरै नजिकका साथीहरू गुमाए। त्यो कठिन समयमा पनि अजादेहले उनलाई मानसिक रूपमा ठूलो साथ दिइन्। युद्धबाट फर्केको ६ महिनापछि डीनले अजादेहलाई विवाहको प्रस्ताव राखे र दुवै परिवारले यसलाई खुसीसाथ स्वीकार गरे।
सुरक्षाको कारणले उनीहरूले आफ्नो वास्तविक नाम र अनुहार सार्वजनिक नगर्न अनुरोध गरेका छन्। अजादेहले आफ्नो आमालाई १० वर्षदेखि भेट्न पाएकी छैनन् भने डीनलाई पनि विदेशमा सुरक्षाको खतरा छ। तर, यी सबै चुनौतीका बाबजुद उनीहरू भविष्यप्रति आशावादी छन्। उनीहरूको एउटै सपना छ— एक दिन युद्ध समाप्त होस् र उनीहरू निर्धक्कसँग तेल अवीव र तेहरानका सडकहरूमा हात समातेर घुम्न पाउन्।







डिसी नेपाल







Facebook Comment