सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत महामहिम डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ।
भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबिच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताए। उनले नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गरे। सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए।
सो अवसरमा सभामुखले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस विकास तथा सहयोग निकाय मार्फत पुर्याइएको योगदानको उच्च प्रशंसा गरे। ‘नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा हामी खुसी छौं, सभामुखले भने, ‘आगामी दिनमा यो विकास सहकार्यको दायरा थप विस्तार हुनेमा म विश्वस्त छु।’
संसदीय सहकार्यका सम्बन्धमा चर्चा गर्दै सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका संसद्बिचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गरे। सभामुखले संघीय संसदमा नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए।
भेटमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। राजदूत मेउल्लीले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न स्विट्जरल्याण्डको सदैव सहयोग रहने आश्वासन दिइन्।







डिसी नेपाल







Facebook Comment