जेफ्री एपस्टीनसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको मेलानिया ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले यौन अपराधी जेफ्री एपस्टीनसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको दाबी गर्दै आफूविरुद्ध फैलाइएका भ्रमहरू अब बन्द हुनुपर्ने बताएकी छिन्।
बिहीबार ह्वाइट हाउसको ग्रान्ड फोयरबाट झन्डै पाँच मिनेट लामो सम्बोधन गर्दै उनले भनिन्, “म र मेरो श्रीमान् डोनाल्ड ट्रम्प न्युयोर्क र पाम बिचका केही सामाजिक कार्यक्रमहरूमा उनीसँगै देखिए पनि एपस्टीन वा घिस्लेन म्याक्सवेलसँग मेरो कुनै व्यक्तिगत मित्रता वा सम्बन्ध कहिल्यै थिएन।”
मेलानियाले सामाजिक सञ्जालमा वर्षौंदेखि आफ्नो नाम जोडेर बनाइएका नक्कली तस्बिर र भ्रामक दाबीहरूलाई ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै कडा आलोचना गरिन्। उनले आफू कहिल्यै एपस्टीनको निजी टापुमा नगएको, उनको विमानमा नचढेको र कुनै पनि कानुनी कागजात वा एफबीआईको बयानमा आफ्नो नाम नरहेको स्पष्ट पारिन्।
उनले थपिन्, “म एपस्टीनकी पीडित होइन र उनले मलाई डोनाल्ड ट्रम्पसँग भेटाएका पनि होइनन्; हाम्रो भेट सन् १९९८ मा न्युयोर्कको एक पार्टीमा संयोगवश भएको थियो।”
यस सम्बोधनको सबैभन्दा महत्वपूर्ण पक्ष मेलानियाले अमेरिकी संसद्लाई गरेको आह्वान थियो। उनले एपस्टीनका पीडित महिलाहरूलाई संसद्मा उपस्थित गराएर शपथसहित बयान दिने वातावरण मिलाउन माग गरिन्।
उनले भनिन्, “हरेक महिलाले सार्वजनिक रूपमा आफ्नो कथा सुनाउन पाउनुपर्छ र ती बयानहरूलाई सधैँका लागि संसद्को रेकर्डमा राखिनुपर्छ, तब मात्र सत्य बाहिर आउनेछ।”
यो पत्रकार सम्मेलन प्रशासनका लागि समेत अप्रत्याशित थियो। इरानसँगको युद्ध र अन्य राजनीतिक एजेन्डाहरूमा ध्यान केन्द्रित भइरहेका बेला मेलानाको यस कदमले एपस्टीन प्रकरणलाई फेरि चर्चामा ल्याइदिएको छ।
सम्बोधन सकिएलगत्तै उनले पत्रकारका कुनै पनि प्रश्नको जवाफ नदिई त्यहाँबाट बाहिरिएकी थिइन्। कतिपयले यसलाई आफ्नो छवि सुधार्ने प्रयासका रूपमा हेरेका छन् भने कतिपयले पीडितहरूलाई न्याय दिलाउने उनको साहसको प्रशंसा गरेका छन्।







डिसी नेपाल







Facebook Comment