आशाको दीपः युद्धविराम

ज्ञानेन्द्र विवश
२८ चैत २०८२ ७:२०
4.8k
Shares

दुई साताकै निम्ति भए पनि युद्धविरामको घोषणाले भय, त्रास र निराशाका बीच आशाको दीप बाल्न मद्दत पु¥याएको छ।

विगत लामो समयदेखि मध्य पूर्वको आकाश बारुदको धुवाँले ढाकिएको थियो। ससाना नानीहरूको क्रन्दन, आमाहरूको चित्कार र भत्किएका सहरका भग्नावशेषहरूले मानवतालाई नै गिज्याइरहेको भान हुन्थ्यो।

हिंसाको त्यो ताण्डव नृत्यमा जब शान्तिको गुन्जन सुनिँदैन, तब सारा संसार नै एउटा अँध्यारो सुरुङभित्र फसेको महसुस हुन्छ। तर, अचानक एउटा खबरले विश्वलाई नै स्तब्ध र आशावादी बनाइदिएको छ- युद्धविरामको घोषणा।

वास्तवमा यो शान्तिको मधुर स्वर हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थता र इरानका वरिष्ठ नेता मोजताबा खामेनीको ‘जताततै गोलीबारी बन्द गर्न’ दिइएको निर्देशन राजनीतिक कदम मात्र होइन; यी त लाखौँ निर्दोष जीवनका लागि जीवनदान हुन्।

दुई हप्ताको यो अल्पकालीन युद्धविराम सुकेको मरुभूमिमा परेको पहिलो बर्सात जस्तै भएको छ। रगतले लत्पतिएको माटोमा अब सायद शान्तिको पालुवा पलाउनेछ। कलेटी परेका ओँठमा मुस्कान फक्रिने छ। आँसुले भिजेका आँखाका उज्यालो ज्योति फर्किने छ। आफन्त गुमाएका परिवारले होश सम्हाल्न पाउने छन्। खुसी खोजिएका मनले शान्तिको सास फेर्न सक्नेछन्।

निराशाका बीचमा एउटा किरण फैलिएको छ। मानिस भय र त्रासको यस्तो दलदलमा फसेका थिए, जहाँ भोलिको सूर्योदय देख्न पाइन्छ कि पाइँदैन भन्ने कुनै टुङ्गो थिएन। युद्धले भौतिक संरचना मात्र भत्काउँदैन, यसले त मानिसको सपना र भरोसालाई पनि खरानी बनाइदिन्छ।

यस्तो चरम निराशाको घडीमा ‘युद्ध रोक’ भन्ने शब्दहरू कुनै दैवी वाणीभन्दा कम छैनन्। जताततै पड्किने बमका आवाजहरू शान्त हुँदा अब त्यहाँ केही दिनका लागि मात्रै भए पनि चराहरूको चिरबिर र बालबालिकाको हाँसो गुन्जिने आशा पलाएको छ।

यो मानवताको जित पनि हो। बमबारुदले ध्वस्त हुँदै गएको युद्धले केही दिन विश्राम पाउनु ठूलो कुरा हो। युद्ध कहिल्यै कुनै समस्याको समाधान हुन सक्दैन। यसले विनाश र वियोग मात्र निम्त्याउँछ। आज जब इरानी सेनालाई गोलीबारी रोक्न आदेश दिइयो र अन्तर्राष्ट्रिय स्तरमा युद्धविरामको पहल भयो, यसले एउटा कुरा स्पष्ट पारेको छ- अन्ततः मानवता र विवेकले नै विजय प्राप्त गर्नुपर्छ।

‘शान्ति कुनै कागतको सम्झौता मात्र होइन, यो त एउटा आमाले आफ्नो सन्तानलाई सुरक्षित देख्न पाउने अधिकार हो।’ हो, यो युद्धविराम मात्र दुई हप्ताका लागि होला, तर यसले ‘आशाको दीप’ प्रज्ज्वलन गरेको छ। यो समय हतियार बिसाउने समय मात्र होइन, बरु संवाद र समझदारीको बाटो खोज्ने अवसर पनि हो। यदि यी दुई हप्तामा विश्वका शक्ति राष्ट्रहरूले संयमता र प्रेमको भाषा बोल्न सके भने, यो अस्थायी शान्ति सधैँका लागि स्थायी बन्न सक्छ।

भय र त्रासको कालो बादल फाटेर अब मध्य पूर्वको आकाशमा शान्तिको सेतो परेवा उडोस्। बारुदको गन्धलाई भाइचाराको सुगन्धले विस्थापित गरोस्। किनकि अन्धकार जतिसुकै गाढा भए पनि एउटा सानो दियोले त्यसलाई चिर्ने सामथ्र्य राख्छ। यो युद्धविराम त्यही सानो तर शक्तिशाली ‘आशाको दियो’ हो।

युद्धको कुरूप वास्तविकता र यो अल्पकालीन युद्धविरामले ल्याएको राहतलाई अझ गहिराइमा चित्रण गर्छ। आगोमा पानीको छिटो पर्दा विध्वंसको बीचमा राहत पाउनु ठूलो उपलब्धि मान्नुपर्छ।

विनाशको पदचाप र शक्तिको अहंकार कसैका निम्ति पनि लाभदायी छैन। युद्ध केवल दुई देशबीचको लडाइँ मात्र होइन, यो त सभ्यतामाथि लागेको एउटा नमेटिने दाग हो। मध्य पूर्वको यो भीषण द्वन्द्वमा कयौँ निर्दोषका सपनाहरू रगतसँगै मिसिएर बगे।

कैयौँका काख रित्तिए, त कैयौँ बालबालिकाहरू आकाशतिर हेर्दै आफ्ना अभिभावक पर्खिरहे। अर्बौं डलरको आर्थिक क्षति र कैयौं वर्ष लगाएर ठड्याइएका गगनचुम्बी भवनहरू क्षणभरमै धूलिसाफ भए।

यति धेरै रक्तपात र विनाश हुँदा पनि शक्ति राष्ट्रहरूमा शक्तिको घमण्ड र अहंकार कम भएन। ‘मै ठूलो’ भन्ने होडबाजीमा मानवता कता हरायो, कसैले पत्तो पाएनन्। प्राचीन गौरव र सभ्यताको रक्षार्थ पनि युद्धविराम अति आवश्यक थियो।

यस युद्धले मानिसको ज्यान मात्र लिएन, हजारौं वर्ष पुरानो इतिहास बोकेका प्राचीन स्मारक र सांस्कृतिक धरोहरहरूलाई पनि संकटमा पा¥यो। ती ढुङ्गाका मूर्ति र भवनहरू केवल संरचना मात्र थिएनन्, ती त मानव सभ्यताका साक्षी थिए।

यो दुई हप्ताको युद्धविरामले कम्तीमा ती अमूल्य ऐतिहासिक सम्पदाहरूलाई थप भत्किनबाट जोगाएको छ। आउँदो पुस्ताले आफ्नो इतिहास हेर्न पाउने एउटा झिनो आशा यसले जीवितै राखेको छ।

युद्धले जनधनको क्षति गर्नुसँगै विश्वबजारमा इन्धनको खपन बढ्नु र तेल उत्पादन नहुँदा मूल्य वृद्धिले आकाश चुलिएको छ। त्यसको असर हाम्रो जस्तो अल्पविकसित भूपरिवष्ठित राष्ट्रले भोग्नुपरेको छ। हप्तामा दुई दिन सार्वजनिक विदा दिएर इन्धनको खपत गर्ने भनिएको छ। तर त्यही युद्धले मूल्यवृद्धिको चरमचुली छोएको अवस्था विद्यमान छ।

युद्धका कारण तेलको बजारमा आर्थिक आहत थपिएके छ। युद्धको रापले रणभूमिलाई मात्र पोल्दैन, यसले त विश्वको भान्सालाई पनि असर गर्छ। युद्धका कारण आकाशिएको कच्चा तेलको मूल्यले विश्व अर्थतन्त्रमै एउटा ठूलो संकट निम्त्याएको थियो। गरिब र मध्यम वर्गका मानिसहरू मूल्यवृद्धिको मारमा पिल्सिएका थिए।

यो अचानकको युद्धविरामले तेलको बजारमा अलिकति भए पनि स्थिरता ल्याएको छ, जसले विश्वभरकै मानिसहरूलाई आर्थिक रूपमा थोरै सास फेर्ने ठाउँ दिएको छ।
हिजोसम्म परिस्थिति यस्तो थियो कि लाग्थ्यो कसैले ‘आगोमा घ्यु’ थपिरहेको छ- हरेक बयान र हरेक आक्रमणले क्रोधलाई अझ प्रज्ज्वलित गरिरहेको थियो।

तर, यो युद्धविरामले ‘आगोमा पानी’ हाल्ने काम गरेको छ। दन्दनी बलिरहेको विनाशको आगोलाई केही समयका लागि भए पनि निभाएर यसले तप्त धर्तीलाई शीतलता प्रदान गरेको छ।

‘जब बन्दुकको नालबाट गोली निस्कन बन्द हुन्छ, तब मात्र मानवताले बोल्ने मौका पाउँछ।’ भन्ने भनाइ यहाँ सान्दर्भिक लाग्छ। यो अल्पकालीन विश्रामले हामीलाई एउटा कुरा सोच्न बाध्य बनाएको छ- यदि दुई हप्ताको शान्तिले यति धेरै राहत दिन सक्छ भने, स्थायी शान्तिले यो धर्तीलाई कति सुन्दर बनाउला ? शक्तिको घमण्ड त्यागेर प्रेम र सद्भावको बाटो रोज्नु नै आजको विश्वको एक मात्र विकल्प हो। थाहा छैन यस कुरामा शक्ति राष्ट्रले गम्भीर हुने दिन कहिले आउँला ?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *