बच्चाको बाबु पहिचान गर्न विज्ञान र अदालत दुवै असफल

डिसी नेपाल
२७ चैत २०८२ १३:०१
156
Shares

काठमाडौं । बेलायतबाट एउटा यस्तो अनौठो र जटिल कानुनी मामला बाहिर आएको छ जहाँ अदालत र विज्ञान दुवै एउटा बच्चाको वास्तविक बाबु पहिचान गर्न असफल भएका छन्। यो मामला एक महिला र ‘समान देखिने जुम्ल्याहा’ (आइडेन्टिकल ट्वीन्स) दाजुभाइबीचको हो जसले पितृत्वको विषयलाई लिएर कानुनी र वैज्ञानिक चुनौती खडा गरिदिएको छ।

‘द सन’ को रिपोर्ट अनुसार ती महिलाको दुवै जुम्ल्याहा दाजुभाइसँग केही दिनको अन्तरालमा शारीरिक सम्बन्ध रहेको थियो। सोही समयमा गर्भधारण भएकाले बच्चा जन्मिएपछि दुईमध्ये वास्तविक बाबु को हो भन्ने ठम्याउन मुस्किल भयो। यो विवाद सुरुमा पारिवारिक अदालत पुगेको थियो र पछि पुनरावेदन अदालत सम्म पुग्यो।

अदालतमा सुनुवाइको क्रममा सबैभन्दा ठूलो प्रश्न डीएनए परीक्षणको थियो। तर, विशेषज्ञहरूले अदालतलाई जानकारी दिए कि हालको सामान्य डीएनए प्रविधिले ‘समान देखिने जुम्ल्याहा’ दाजुभाइबीच फरक छुट्याउन सक्दैन। समान जुम्ल्याहा एउटै अण्ड र शुक्रकीटबाट बन्ने हुनाले उनीहरूको आनुवंशिक संरचना (डीएनए) लगभग शतप्रतिशत मिल्दोजुल्दो हुन्छ।

न्यायाधीशहरूले स्वीकार गरे कि भविष्यमा विज्ञानले यसको समाधान निकाल्न सक्ला तर हाल यो प्रविधि उपलब्ध छैन वा निकै खर्चिलो छ। त्यसैले, अदालतले भनेको छ – अहिलेको वास्तविकता यो हो कि बच्चाको बाबु यी दुईमध्ये एक हुन्, तर ठ्याक्कै को हुन् भनेर किटान गर्न असम्भव छ।

दुवै दाजुभाइको सम्बन्ध बच्चा गर्भधारण भएको समयमै रहेकाले दुवैको बाबु हुने सम्भावना बराबर रहेको छ। अदालतले हालका लागि जन्मदर्ता प्रमाणपत्रमा उल्लेख गरिएको व्यक्तिको ‘अभिभावकीय जिम्मेवारी’ हटाइदिएको छ। तर, यसको अर्थ उनी बाबु होइनन् भन्ने चाहिँ होइन। न्यायाधीशहरूले स्पष्ट पारे कि कुनै कुरा “प्रमाणित गर्न नसक्नु” र त्यसलाई “गलत प्रमाणित गर्नु” दुई फरक कुरा हुन्।

यो मामलाले कानुन र विज्ञान दुवैको सीमिततालाई उजागर गरिदिएको छ। सत्य आँखा अगाडि भए पनि त्यसलाई कानुनी रूपमा प्रमाणित गर्न नसकिने यो अवस्थाले बच्चाको भविष्यको जिम्मेवारी र कानुनी हकको विषयमा नयाँ बहस सिर्जना गरेको छ। अदालतले अब पितृत्व स्पष्ट नभएसम्म बच्चाको पालनपोषण र जिम्मेवारी कसरी तय गर्ने भन्ने विषयमा थप निर्णय लिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *