दाँतको उपचार गर्न गएका बिरामीको दुवै हातखुट्टा काट्नुपर्‍यो

डिसी नेपाल
२७ चैत २०८२ १३:१५
3.4k
Shares

काठमाडौं । दाँतको सामान्य दुखाइ र गिजा सुन्निएको समस्या लिएर दन्त चिकित्सककहाँ पुगेका एक व्यक्तिको जीवनमा अकल्पनीय मोड आएको छ। दाँत जँचाएर फर्किएको केही घण्टामै स्वास्थ्यमा गम्भीर समस्या देखिएका डेवन वैन्टरपूलले अन्ततः आफ्नो ज्यान जोगाउन दुवै हात र दुवै खुट्टा गुमाउनुपरेको छ।

डेली स्टारको रिपोर्ट अनुसार, डेवन आफ्नो गिजा सुन्निएको र रगत बग्ने समस्याको नियमित जाँचका लागि डेन्टिस्टकहाँ गएका थिए। तर, घर फर्किएको ४५ मिनेटमै उनलाई निकै जाडो हुने, काम्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता ‘फ्लु’ सँग मिल्दाजुल्दा लक्षणहरू देखिन थाले। उनको अवस्था छिटै बिग्रिएपछि उनलाई आपत्कालीन कक्षमा भर्ना गरियो।

अस्पतालमा जाँच गर्दा डेवन ‘सेप्टिक शक’ मा गएको र उनका महत्वपूर्ण अंगहरूले काम गर्न छाडेको पाइयो। दन्त चिकित्सकले गिजाको जाँच गर्दा भएको रक्तश्रावका माध्यमबाट मुखमा रहेका ब्याक्टेरिया रगतमा प्रवेश गरेको र त्यसले भीषण संक्रमण निम्त्याएको थियो।

संक्रमणकै क्रममा उनलाई ‘पर्पुरा फुलमिनन्स’ नामक दुर्लभ र प्राणघातक जटिलता भयो, जसले गर्दा उनको शरीरका तन्तुहरू मर्न थाले । उनको शरीरमा विषाक्त पदार्थ फैलिन नदिन र ज्यान जोगाउन डाक्टरहरूले उनको पूरै दाहिने खुट्टा, घुँडा मुनिको देब्रे खुट्टा र दुवै हात काट्नुपर्ने निर्णय लिए।

उपचारका क्रममा डेवनको मुटुको धड्कन दुई पटक रोकिएको थियो र उनलाई लामो समय भेन्टिलेटर तथा कृत्रिम मुटु र फोक्सोको मेसिन (लाइभ सपोर्ट) मा राखिएको थियो। उनकी पार्टनर एलिसिया वाइल्डरले भनिन्, “उनका हातहरू कालो र कडा भइसकेका थिए, मैले मसाज गरेर रक्तसञ्चार गराउने प्रयास गरेँ तर केही सीप लागेन। अन्ततः उनको ज्यान जोगाउन हातखुट्टा काट्ने अनुमति दिनुबाहेक मसँग अर्को विकल्प थिएन।”

हाल डेवन काम गर्न असमर्थ छन् र उनको अवस्था अझै गम्भीर छ। दुई छोरीकी आमा एलिसिया, जो आफैँ एक एकाउन्ट्स विशेषज्ञ हुन्, उनले डेवनको बढ्दो मेडिकल बिल तिर्न र परिवारको हेरचाहका लागि ‘गोफन्डमी’ पेज मार्फत आर्थिक सहयोगको अपिल गरेकी छिन्। उनले आफ्नो प्रेम अझै आफूसँगै जीवित रहेकोमा ईश्वरप्रति कृतज्ञता व्यक्त गरेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *