अमेरिका-इरान वार्ता असफल, अब के हुन्छ?
अमेरिका र इरानबीचको बहुप्रतिक्षित उच्चस्तरीय वार्ता कुनै सम्झौता बिना नै टुङ्गिएको छ।
पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा भएको २१ घण्टा लामो ‘म्याराथन वार्ता’ सकारात्मक निष्कर्षमा पुग्न नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई ‘अन्तिम र सर्वोत्कृष्ट प्रस्ताव’ सुम्पिएर स्वदेश फर्किएका छन्।
आइतबार बिहान इस्लामावादमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति भान्सले भने, “हामीले एउटा अत्यन्तै स्पष्ट प्रस्ताव राखेका छौँ, यो नै हाम्रो अन्तिम र उत्कृष्ट अफर हो। अब इरानी पक्षले यसलाई स्वीकार गर्छ वा गर्दैन, त्यो उनीहरुकै हातमा छ।”
शनिबारदेखि सुरु भएको वार्ता आइतबार बिहान पौने ५ बजेसम्म चलेको थियो। वार्तामा कुनै सहमति हुन नसकेकोमा दुःख व्यक्त गर्दै भान्सले भने, “हामीले २१ घण्टासम्म प्रयास गर्यौँ, तर दुःखद कुरा कुनै सम्झौता हुन सकेन। हामीले आफ्ना सीमाहरू स्पष्ट पारेका थियौँ तर इरानले हाम्रा शर्तहरू मान्न तयार भएन।”
उनले वार्तालाई व्यवस्थित बनाउन भूमिका खेल्ने पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल आसिम मुनिरको विशेष सराहना गर्दै वार्ता असफल हुनुमा पाकिस्तानको कुनै दोष नरहेको प्रस्ट पारे।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै इरानसँग सम्झौता भए वा नभए पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन्। उनले अमेरिकी सेनाले इरानको सैन्य संरचना र नेतृत्वलाई उल्लेख्य क्षति पुर्याइसकेको दाबी गरे।
यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलसन्धिमा बिछ्याइएका बारुदी सुरुङ हटाउने कार्य सुरु भएको र दुई अमेरिकी युद्धपोत सुरक्षित रूपमा सो क्षेत्रबाट पार भएको दाबी गरेको छ। यद्यपि, इरानले अमेरिकी दाबीको खण्डन गर्दै सो जलक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण कायम रहेको जिकिर गरेको छ।
वार्ताको क्रममा इरानले युद्धविराममा लेबनानलाई पनि समेट्नुपर्ने शर्त राखेको थियो। यसै सन्दर्भमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग शान्ति वार्ताका लागि सैद्धान्तिक सहमति दिएका छन्। तर, उनले हिजबुल्लाहको निशस्त्रीकरण र इरानमा रहेको संवर्द्धित युरेनियम नष्ट गरिनुपर्ने आफ्नो अडानलाई दोहोर्याएका छन्। इस्लामावाद वार्ता निष्कर्षविहीन बनेसँगै अब मध्यपूर्वको तनाव कुन दिशामा जान्छ भन्ने विषयलाई विश्व समुदायले चासोका साथ हेरिरहेको छ।







डिसी नेपाल







Facebook Comment