रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ।
‘युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम हो। अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो,’ प्रेस वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा प्रधानमन्त्री स्वयं पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका व्यक्तित्व भएकाले यसको महत्व बुझ्नुपर्ने अपेक्षा गरिएको छ। विचार र अभिव्यक्तिलाई अपराधको रूपमा व्यवहार गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर पार्ने चेतावनी समेत दिइएको छ।
त्यस्तै, वक्तव्यमा विगतका राजनीतिक अभिव्यक्तिहरूको सन्दर्भ उल्लेख गर्दै समान मापदण्डको आधारमा सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ।
संगठनले एकतर्फी रूपमा लक्षित गरी गरिएको गिरफ्तारी कानुनी राज्यको सिद्धान्तविपरीत भएको दाबी गर्दै यसले अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर असर पार्ने बताएको छ।
वक्तव्यमा भनिएको छ, ‘यदि बोलेको अभिव्यक्तिकै आधारमा कारबाही गर्ने हो भने, विगतमा स्वयं प्रधानमन्त्रीबाटै सिंहदरबार जलाउनेजस्ता अभिव्यक्ति आएका थिए भने तत्कालीन प्रधानमन्त्रीलाई उनले आतंककारीको संज्ञा दिएका थिए, यदि त्यसो हो भने बालेन शाहलाई किन पक्राउ नगर्ने ? त्यस अवस्थामा समान मापदण्ड अपनाइने हो भने सबैमाथि निष्पक्ष छानबिन हुनुपर्छ।’
जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै नागरिकको बोल्ने अधिकार सुरक्षित गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरेको छ।
‘युट्युबर रोशन पोख्रेललाई तत्काल रिहा गर्न जोडदार माग गर्दछौं । नागरिकको बोल्ने अधिकार सुरक्षित गर्न र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक छ,’ वक्तव्यमा भनिएको छ।







डिसी नेपाल







Facebook Comment