गृहमन्त्री गुरुङ र राजदूत माओमिङबीच शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउनेमा जोड
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
गृह मन्त्रालयमा आज (सोमबार) भएको उक्त भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने विषयमा सरकार सजग रहेको जानकारी दिए। साथै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्न सरकार सक्षम रहेको उल्लेख गरे।
त्यस्तै, नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई निष्कासन गर्ने कार्यका लागि आवश्यक समन्वय र सहजीकरण गर्न गृहमन्त्रीले राजदूतसँग अनुरोध गरे।
गृहमन्त्री गुरुङले चिनियाँ सहयोगमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माण अगाडि बढाउन तथा दुई देशबीच व्यापार सहजीकरणमा पहल गर्न पनि आग्रह गरे।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य गर्न नेपालले प्रस्ताव राखेकोमा राजदूत माओमिङले चीन सरकार सकारात्मक रहेको जनाउँदै नेपालका सुरक्षा निकायको क्षमता विकासमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, सिन्धुपाल्चोकको तातोपानी नाकामा मालवाहक सवारी आवागमन असहज भएको भन्ने समाचारप्रति गृहमन्त्रीले जिज्ञासा राखेका थिए।
त्यसमा राजदूत माओमिङले चिनियाँ पक्षबाट कुनै असहजता नरहेको र त्यस्ता समाचारहरू गलत रहेको स्पष्ट पारे।
भेटघाटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै आगामी दिनमा अझ घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment