धान उत्पादनमा कमीः किसान आर्थिक मारमा

डिसी नेपाल
२४ मंसिर २०७६ १६:४२

वीरगञ्ज । धान रोपाइँको समयमा रासायनिक मलको अभाव, गाँज हाल्ने अवस्थामा पानीको अभावजस्ता कारणले यो वर्ष पर्सा जिल्लाको यो बर्ष धान उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा ३ करोड ७७ लाख मूल्य बराबरको १ हजार ४ सय १० मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । धान उत्पादनमा कमी हुँदा किसान आर्थिक मारमा परेका छन् ।

कृषि ज्ञान केन्द्र पर्साका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरेकोमा २ लाख २५ हजार ८ सय ४० मेट्रिक टन धान उत्पादन गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा १ हजार ४ सय १० मेट्रिक टन धान उत्पादन कम रहेको छ । यसले किसानलाई ३ करोड ७७ लाख आर्थिक घाटा भएको वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताए।

अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा पर्सा जिल्लाका किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेकोमा २ लाख २७ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन गर्न सफल भएका थिए । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा प्रतिहेक्टर ५.०५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा प्रतिहेक्टर ४.८ मेट्रिक टन मात्र धान उत्पादन भएको छ ।

यसवर्ष धान रोपाइँको समयमा आवश्यक पर्ने रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले समयमा मल उपलब्ध नगराउनु जस्ता कारणले यसवर्ष सोचे जस्तो धान उत्पादन नभएको किसान शेषमन पण्डितको भनाइ छ ।

नगदेबालीको रुपमा रहेको धानखेती गर्ने किसान पर्सा जिल्लामा ९० प्रतिशत रहेको तथा उनीहरुले उन्नत जातको धान सोना मन्सुली, हर्दिनाथ १, स्वर्णासव १, चैते २ र ४, बास्मती, रामधान जस्ता उन्नत जातको धानखेती गरेका थिए ।

यान्त्रिकीकरणको कारण पर्सा जिल्लामा किसानले वर्षमा दुई पटक धानखेती गर्दै आएको छ भने धानखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्र पर्साले अघिल्लो वर्ष ५५ मेट्रिक टन प्राङ्गारिक मल तथा सिँचाइको लागि २ सय १ थान विद्युतीय मोटर वितरण गरेकाले गतवर्ष धान उत्पादन राम्रो भएको बागबानी अधिकृत श्यामकिशोर कुशवाहाले बताए।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गमार्फत किसानका लागि रासायनिक मल उपलब्ध गराए पनि ती रासायनिक मल समयमा किसानसम्म पुग्न नसकेकाले पर्सामा धानखेती प्रभावित हुँदै आएको कृषि विज्ञको भनाइ छ ।

यता नेपालमा प्रतिबन्ध रहेको भारतीय धान सोना मन्सुली धानखेती गर्ने ७५ प्रतिशत किसान अहिले पनि सो धानखेती गर्दै आएको छ । भारतीय धान सोना मन्सुलीमा बढी रोगकीरा लाग्ने गरेको, दाना लाग्न बढी समय लाग्ने गरेको कारणले मकै, तोरी तथा सुर्तीबाली प्रभावित हुने गरेकाले यो धान नेपालमा प्रतिबन्ध लगाए पनि किसान यस खेतीतर्फ आकर्षित हुँदै आएका छन् ।

सोना मन्सुली धान १ क्वीन्टलमा ६५ किलो चामल दिने गरेको, उब्जनी पनि राम्रो हुने तथा भात खान पनि स्वादिलो हुने गरेकाले यसको खेती गर्दै आएको प्रसौनी विर्ताका किसान मुनिलाल यादवको भनाइ छ । जिल्लाको बहुसङ्ख्य जनसङ्ख्या कृषिमा आधारित रहेको र ग्रामीण जनजीवनको माध्यम नै कृषि भएकाले कृषि ज्ञान केन्द्र वीरगञ्जले खाद्य वस्तुको बढ्दो आन्तरिक माग पूरा गर्न गराउन कृषि उत्पादन र उत्पादकत्व बढाउन ग्रामीण अर्थतन्त्रको दिगो विकासमा थप टेवा पु¥याउँदै आएको छ ।
उत्पादनमा ह्रास हुँदै आएपछि यहाँका जनता भारतीय चामलमा आश्रित हुँदै आएपछि परनिर्भरता पनि बढ्दै गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *